वन्यजन्तु पीडित कृषकलाई राहत दिने गुल्मीदरबारको नीति

admin

२०८३ असार ७ गते, आईतवार २०:०६ मा प्रकाशित

गुल्मी, ७ असार । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको संख्या वृद्धि र बालीनालीमा हुने क्षतिबाट पिरोलिएका कृषकहरूलाई राहत दिने विशेष नीति अघि सारेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोज थापाले उक्त कुरा बताउनु भएको हो ।

उहाँले पालिकाभित्र मुख्य समस्याको रूपमा देखा परेको बाँदर र बँदेल लगायतका वन्यजन्तुको समस्या समाधानका लागि संघ, प्रदेश र विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने घोषणा गर्नुभएको छ । उत्पादनमुखी कृषिलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस अघि सञ्चालनमा ल्याएको लोकप्रिय कार्यक्रम “कृषि उपज उत्पादन हातहातमा अनुदान” भन्ने नीतिलाई यस पटक पनि निरन्तरता दिने भएको छ ।

खेतीयोग्य जमिनलाई बाँझो राख्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले कृषि भूमि बैंकको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष थापाले रैथाने बालीको बीउबिजन सङ्कलन र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका कोदो, लट्टे, जुनेलो, घैया, तीते फापर, जौ र उवा जस्ता बालीहरूको उत्पादन र संरक्षणका लागि कृषकहरूलाई विशेष प्रोत्साहन गरिने उल्लेख गर्नुभएको छ ।

पालिकाले “कृषि उत्पादनमा वृद्धिः, गुल्मीदरबारको समृद्धि” को मूल नारालाई आत्मसात गर्दै लागत साझेदारीमा फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, च्याउ, पुष्पखेती र कफी खेती जस्ता व्यावसायिक परियोजनाहरू सञ्चालन गर्ने जनाएको छ । घर–घरमै उद्यमशीलताको लहर ल्याउन “आँगनमा फूलबारी, कौशिमा मौरी घारी, घरपछाडी करेसाबारी” कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिने भएको छ ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी “गुणस्तरीय खाना उत्पादनमा स्वच्छता” नीति अपनाउँदै अर्गानिक उत्पादन र रासायनिक मलको विकल्पमा जैविक तथा गड्यौला मलको प्रयोगलाई बढावा दिइने योजना अघि सारिएको छ । पशुपालनतर्फ “मेरो पशुपंक्षी मेरो सम्पत्ति” अभियान सञ्चालन गरी पशुहरूमा लाग्ने रोगको रोकथाम र उपचार पद्धतिलाई प्रभावकारी बनाउँदै पशुको नस्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवालाई निरन्तरता दिइने उल्लेख गरेको छ ।

कृषि र पशु बीमा कार्यक्रममार्फत कृषकहरूको लगानीको जोखिम न्यूनीकरण गरिनुका साथै पालिकाभित्रका उत्कृष्ट कृषकहरूलाई प्रोत्साहन गर्न “गुल्मीदरबार उत्कृष्ट कृषक सम्मान कार्यक्रम” लाई निरन्तरता दिइने नीतिमा समेटिएको छ । पालिकाले “गुल्मीदरबारका महिला, उद्यमशीलतामा पहिला” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै महिला उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी स्वास्थ्य तर्फ “हाम्रो गाउँ, स्वस्थ बनाऔँ,” साथी शिक्षा, “मेरी आमा स्वास्थ आमा,” उपाध्यक्ष कोेसेली लगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूलाई सुदृढ र पारदर्शी बनाउन समस्याग्रस्त सहकारीहरूको अध्ययन गरी समाधानको पहल गर्ने लगायतका विषयहरु समेटिएको छ ।