५ भाद्र २०८३, शुक्रबार
महिला सशक्तीकरणका लागि पुरुषको भूमिका महत्वपूर्ण हुने
गुल्मी, ५ भदौ । महिलाको समान सहभागिता र क्षमता अभिवृद्धिका लागि पुरुष तथा युवा वर्गको सक्रिय भूमिका अपरिहार्य रहेको गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
महिला विकास मञ्च नेपाल गुल्मीको आयोजनामा हाम्रो साहस कार्यक्रम अन्र्तगत रेसुङ्गा नगरपालिकामा शुक्रबार आयोजित “महिलाको समान सहभागिता तथा क्षमता निर्माणमा पुरुष तथा युवाको भूमिका” विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले सामाजिक चेतना अभिवृद्धिमा पुरुष तथा युवा वर्ग अग्रसर हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले स्थानीय तहमा भइरहेका प्रयासबारे बोल्दै नगरपालिकाबाट सञ्चालनहुने विकास तथा सामाजिक रूपान्तरणका काममा महिलाहरुको सक्रिय सहभागिता रहने गरेको बताउनुभयो । उहाँले त्यसका लागि नगरपािलकाले महिला तथा लक्षित वर्गका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आईरहेको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपप्रमुख अमृतादेवी कुँवरले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर नबनाएसम्म वास्तविक समानता सम्भव नहुने बताउनुभयो । उहाँले स्थानीय सरकारले आफ्नो नीति तथा बजेटमै प्रमुख प्राथमिकता दिएर महिला लक्षीत कार्यक्रमहरु समावेश गर्दै आएको बताएकी छन्समेत बताउनु भएको छ । अन्र्तक्रियामा बोल्दै वडाध्यक्षहरूले पनि आ–आफ्नो वडामा सञ्चालनहुने गतिबिधिहरुमा महिलालाई पहिलो प्राथमिकता दिने गरेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले महिला हिंसा अन्त्य र सशक्तीकरणका समस्या, चुनौती, पुरुष तथा सञ्चारमाध्यमहरुको भूमीका, लैङ्गिक विभेद न्यूनिकरणका लागि स्थानीय तहबाट गर्न सकिने कामहरु लगायतका विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महिला विकास मञ्च नेपाल गुल्मीकी अध्यक्ष हिरा कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला, सामाजिक क्षेत्रका अगुवा तथा स्थानीय युवाहरूकोे सहभागिता रहेको थियो संस्थाकी सचिव बिन्दु पन्थीले बताउनु भयो । कार्यक्रममा महिला सशक्तिकरणका लागि विशेष गरी पुरुष र युवाको दायित्व महत्वपूर्ण रहने बताईएको थियो ।


