गुल्मीको मुसिकोट सहित विभिन्न शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो

admin

२०८३ कार्तिक ४ गते, मंगलवार १४:५० मा प्रकाशित

गुल्मी, ३ कात्तिक । बडादसैँको महानवमीका अवसरमा आज बिहानैदेखि गुल्मी जिल्लाका प्रसिद्ध शक्तिपीठ तथा ऐतिहासिक कोतघरहरूमा पूजाआजा गर्ने श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ । नवरात्रको अवसरमा शक्ति स्वरूपा देवीको पूजा–अर्चना गर्न गुल्मीका विभिन्न स्थानका साथै छिमेकी जिल्लाहरूबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरू शक्तिपीठ तथा कोतघरहरूमा पुगेका थिए ।

यसै अवसरमा गुल्मीको मुसिकोट नगरपालिका स्थित प्रसिद्ध धार्मिक स्थल खड्गदेवी मन्दिरमा आज विशेष पूजाआजा गरी शक्ति स्वरूपा देवतालाई बाहिर निकालिएको थियो । परम्परागत रीतिरिवाज र विधिपूर्वक पूजाअर्चना गरी दर्शनका लागि मन्दिरबाट देवता निकाल्ने परम्परा रहेको छ । महानवमीका दिन मुख्य देवतालाई बाहिर निकालेको समयमा दर्शन र पूजाअर्चनाका लागि बिहानैदेखि मन्दिर परिसरमा हजारौँ भक्तजनको भीड लागेको थियो ।

तत्कालीन बाइसे–चौविसे राज्यका अन्तर्गत गुल्मीका ऐतिहासिक कोतघरहरू तथा विभिन्न शक्तिपीठहरूमा घटस्थापनासँगै दसैँमा विशेष पूजा सुरु हुने गर्दछ । जिल्लाको मुसीकोट, इस्मा, धुर्कोट, चन्द्रकोट र चारपाला लगायतका ऐतिहासिक कोतका साथै रेसुङ्गा, वामी, घमिर, अर्जे, मरभुङ्, अर्खावाङ तथा छत्रकोट लगायतका शक्तिपीठहरूमा परम्परागत विधिअनुसार पूजा गर्ने प्रचलन छ ।

यी कोत तथा शक्तिपीठहरूमा घटस्थापनाका दिनदेखि नै पण्डित र पुजारीहरू निराहार उपवास बसेर दसैँभर पूजा गर्ने परम्परा छ । धार्मिक आस्था र विश्वासको केन्द्रका रूपमा रहेका यी मन्दिर तथा शक्तिपीठहरूमा पुगेर पूजाआजा तथा भाकल गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

यहाँ आफ्नो मनोकामना सिद्धिका लागि पञ्चबली दिने तथा विशेष भाकल गर्ने परम्परा छ । भाकल पूरा भएपछि श्रद्धालुहरू पुनः मन्दिर पुगेर पूजाअर्चना गर्ने र बली चढाउने गर्दछन् । बिगत वर्षहरुमा भन्दा यस पटक पूजाआजा गर्नका लागि जिल्लाका सम्पूर्ण शक्तिपीठहरुमा मानिसहरुको बाक्लो उपस्थिति देखिएको छ ।