११ जेष्ठ २०८३, सोमबार
एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेल ‘बाबु’द्वारा उम्मेदवारी दिने घोषणा
रेसुंगा समाचारदाता
जापान (टोकियो) ३० असार । गुल्मी ः आगामी कार्यकाल (२०२५–२०२७) का लागि (गैर आवासीय नेपाली संघ) एनआरएनए जापानको कोषाध्यक्ष पदमा कृष्ण पोखरेल ‘बाबु’ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्दै विदेशी भूमिमा रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै पारदर्शी र जवाफदेही आर्थिक प्रणाली स्थापना गर्ने अठोट व्यक्त गर्नुभएको छ । उहाँले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए जापानलाई अझ समावेशी, उत्तरदायी र सशक्त संस्था बनाउन प्रयत्नशील हुने उल्लेख गर्नुभएको छ ।
“जापानमा नेपाली समाज र नेपालीहरूलाई अप्ठ्यारो परेको अवस्थामा, चाहे त्यो दैवी प्रकोप होस्, गम्भीर बिरामी, वा अप्रत्याशित मृत्युजस्ता घटनामा आर्थिक सहयोग जुटाउन मेरो प्रमुख भूमिका रहनेछ ।” पोखरेलले भन्नुभयो । उहाँले पारदर्शी आर्थिक व्यवस्थापन मार्फत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले आगामी निर्वाचनमा नेपाली समुदायको अमूल्य मत, माया, साथ र समर्थन प्राप्त हुनेमा आफु आशावादी रहेको उल्लेख गर्नु भएको छ ।
यस अभियानमा सबैसँग सहयोगको अपेक्षा गर्दैै उहाँले आफुलाई विजयी बनाउन सम्पूर्ण जापानवासी नेपाली समुदायलाई हार्दिक अपिल समेत गर्नुभएको छ ।

