३ बैशाख २०८३, बिहीबार
गुल्मीका मुख्य शक्तिपीठहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो
जनार्दन घिमिरे
गुल्मी, १५ असोज । विजयादशमीको नवमी पर्वमा गुल्मीको ऐतिहासिक मुसिकोट दरबार परिसर आज बिहानैदेखि श्रद्धालुहरूको भिड बढेको छ । बिहानैदेखि खड्गदेवीको दर्शन र पूजा–अर्चनाका लागि हजारौं भक्तजनहरू मन्दिर परिशर पुगेका छन ।
बाइसे–चौबिसे राज्यकालमा राजनीतिक, धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित मुसिकोट दरबार एउटा धार्मिक आस्था र विश्वासको प्रमुख गन्तव्य स्थलको रुपमा परिचित छ । नवमीको दिन यहाँ विशेषगरी भाकल गर्ने, पञ्चवली दिने र मेडा चढाउने परम्परा रहिआएको छ ।
यहाँ गुल्मी लगायत बाग्लुङ्, प्यूठान, पाल्पा, अर्खाखाँची लगायतका जिल्लाहरुबाट पनि भक्तजनहरुको बाक्लो उपस्थिति रहने गर्दछ । शक्तिपीठको रूपमा चिनाएको उक्त मन्दिरमा भक्तजनहरूले आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वासका साथ भाकल गर्ने र उक्त भाकल पुरा भएपछि परम्परागत रूपमा बलि दिने प्रचलन छ । यहाँ पुग्ने श्रद्धालुहरु परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना समेत गर्ने गर्दछन ।
नवमीको दिन जिल्लाको इस्मा, धुर्कोट, पुर्कोट, वामी, गुल्मीदरबार लगायतका शक्ति पिठहरुमा पनि भाकल, पुजाआजा र वली चढाउनका लागि बिहानैदेखि भक्तजनहरुको चाँप बढेको छ ।

