गुल्मीमा महिलाहरुका लागि उद्यमशीलता विकास तालिम       

admin

२०८२ पुष ९ गते, बुधबार ००:५० मा प्रकाशित

गुल्मी, ८ पुस । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका–१ स्थित पौंदी अमराईमा एक हप्ते उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । स्थानीय स्तरमा महिलाहरुका लागि रोजगारी सिर्जना गर्ने र स्वरोजगारमुखी उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले उक्त उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको हो ।

तालिममा मुसिकोट नगरपालिका–१ अन्तर्गतका विभिन्न टोलका उद्यम गर्न इच्छुक स्थानीय महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर सहभागीलाई उद्यमशीलता विकासका आधारभूत अवधारणा, व्यवसायिक सोंचको विकास, उद्यम सुरु गर्दा ध्यान दिनुपर्ने पक्ष, बजार व्यवस्थापन, लागत–मुनाफा विश्लेषण, लेखा तथा अभिलेख राख्ने तरिका, सहकारी तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्ने प्रक्रिया लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

  घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रशिक्षक तथा स्रोत व्यक्ति त्रिबिक्रम ज्ञवालीले स्थानीय स्रोत, सीप र कच्चा पदार्थको सदुपयोग गरी कृषि, पशुपालन, घरेलु उद्योग, प्रशोधन तथा सेवा क्षेत्रमा उद्यम सुरु गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराउनु भएको थियो ।

महिला एकता तथा साना किसान सहकारी संस्थाकी अध्यक्ष पुनकला गौतमले तालिम पाएपछि आफ्नै गाउँठाउँमा केही गर्न सकिने आत्मविश्वास बढाएको भन्दै आफुहरुले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नका लागि उद्यम सुरु गर्ने योजना बनाएको बताउनु भएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेल, उपाध्यक्ष गंगा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव पन्थी, वडाध्यक्ष आनन्द प्रसाद श्रेष्ठ लगायतले उद्यमशीलता विकास तालिमले महिलाहरुमा आत्मनिर्भर बन्नका लागि थप प्रेरणा मिलेको भन्दै तालिमपछि पनि उद्यम सञ्चालनमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र मुसिकोट नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तालिममा वडा भित्रका ४० जना भन्दा बढीको सहभागिता रहेको थियो । उक्त तालिम निकै व्यावहारिक र उपलब्धीमूलक रहेको भन्दै सहभागिहरुले आफुहरुलाई निकै उत्साहित बनाएको प्रतिक्रिया समेत दिनुभएको थियो ।