१८ बैशाख २०८३, शुक्रबार
सहकारी दिवसमा गुल्मीमा संस्था र व्यवस्थापकहरू सम्मानित
गुल्मी, २० चैत । गुल्मी जिल्ला सहकारी संघ गुल्मीको आयोजनामा ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संस्था र व्यवस्थापकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा मुक्तिनाथ कृषि सहकारी छत्रकोट, मिलिजुली कृषि सहकारी धुर्कोट रहेका छन् ।
त्यसैगरी दिवसको अवशरमा लेकाली सहकारी संस्था तम्घासका व्यवस्थापक प्रदीप मरासिनी र साना किसान सहकारी संस्था वडागाउँका व्यवस्थापक बिवेक पेमी मगर सम्मानित भएको जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिनुभएको छ । उहाँहरुले सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले कार्यक्रममा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संस्थाहरूको वर्तमान अवस्था, चुनौती र भविष्यका योजना बारे अन्तरक्रिया गरिएको थियो । सोहि अवसरमा सामाजिक सुरक्षा तथा श्रम रोजगार कार्यालय, बुटवलका प्रमुख ऋषिराम पन्थीले सामाजिक सुरक्षा कोष र यसको लाभबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रमले आफ्ना सदस्यहरूको हित र सुरक्षाको सुनिश्चितता कसरी गर्न सकिन्छ भन्ने बारे मार्गदर्शन प्रदान गरेको सहकारीकर्मीले बताएका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले जिल्लामा सञ्चालन भइरहेका विभिन्न सहकारी संस्थाको स्थिति, उपलब्धि र चुनौतीबारे प्रकाश पार्नुभएको थियो ।
उहाँले सहकारी संस्थाहरूले ग्रामीण विकास, किसान सशक्तिकरण र स्थानीय अर्थतन्त्रमा खेलेको भूमिका विशेष उल्लेखनीय भएको बताउनु भएको थियो । कार्यक्रममा सहभागिहरूले सहकारी क्षेत्रको महत्व र यसको दिगो विकासका उपायहरूका बारेमा जिज्ञासा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा जिल्लाभित्र रहेका सहकारीकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

