कफी खेतीमा देखिएका समस्या समाधानका लागि किसानसँग अन्तरक्रिया

admin

२०८३ असार ११ गते, बिहीबार १७:५९ मा प्रकाशित

गुल्मी, ११ असार । कफी खेतीमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले गुल्मीमा कफी किसानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कफी विकास केन्द्र आँपचौर, गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लाका अगुवा कफी कृषक, निर्यातकर्ता तथा सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा कफी खेतीमा देखिएका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको थियो । अन्तरक्रियामा सहभागी किसानहरूले पछिल्लो समय कफी बगानमा सेतो गवारोको प्रकोप तीव्र रूपमा बढ्दै गएको भन्दै यसले उत्पादनमा गम्भीर असर पारेको बताएका थिए । उनीहरूले सेतो गवारोका कारण उत्पादनशील कफीका बोट नै काट्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका थिए ।

किसानहरूले हिउँद याममा कफीका बेर्ना सुक्ने, गुणस्तरीय बीउ तथा बिरुवाको अभाव, पातमा विभिन्न रोगको संक्रमण, प्राविधिक ज्ञानको कमी, पर्याप्त छहारी र सिँचाइको अभावजस्ता समस्या रहेको बताएका थिए । साथै, बजारीकरणमा एकरूपता नहुँदा उत्पादकले उचित मूल्य पाउन नसकेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, गुल्मीका प्रमुख नवराज पण्डित, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ बागवानी अधिकृत राहुल पाण्डे, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेस धिताल तथा जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले किसानहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै कफी क्षेत्रका समस्या समाधानका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

उहाँहरूले कफी उत्पादन, प्रशोधन, बजारीकरण र निर्यातलाई व्यवस्थित बनाउन किसान, सहकारी, सरकारी निकाय, स्थानीय तह तथा निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । साथै रोग तथा कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन, प्राविधिक सेवा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

नेपालमा व्यावसायिक कफी खेतीको सुरुवात भएको जिल्ला गुल्मीमा हाल १८ सयभन्दा बढी किसान कफी खेतीमा आबद्ध रहेका छन् । तर बढ्दो रोग–कीराको प्रकोप तथा बजार व्यवस्थापनका चुनौती समाधान हुन नसके कफी खेतीप्रतिको किसानको आकर्षण घट्न सक्ने सरोकारवालाले बताएका छन् ।