गुल्मीमा प्रदेश सदस्यहरुद्वारा उद्योग तथा पर्यटन क्षेत्रको अनुगमन

admin

२०८३ बैशाख १ गते, मंगलवार ०७:५७ मा प्रकाशित

गुल्मी, ३० चैत । लुम्बिनी प्रदेश सभा अन्तर्गत अर्थ,उद्योग तथा पर्यटन समितिले सोमबार गुल्मीका उद्योग तथा पर्यटकीय क्षेत्रको स्थलगत अनुगमन गरेको छ । समितिका सभापति एवं प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ सहितको नेतृत्व टोलीले घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको संयोजनमा जिल्लाका विभिन्न औद्योगिक तथा पर्यटन क्षेत्रको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिएका कार्यक्रम तथा प्रगतिबारे जानकारी गराउनु भएको थियो । समितिले कार्यालयले वार्षिक कार्यक्रम कार्यान्वयन र लक्ष्य प्राप्तिका लागि गरेका प्रयास समग्रमा सकारात्मक रहेको निष्कर्ष निकालेको छ । अनुगमनको क्रममा समयको पालना, गुणस्तर र परिणाममुखीतामा थप सुधार आवश्यक रहेको सुझाव दिइएको छ ।

समितिले जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रेसुंगाको समेत अवलोकन गर्दै त्यस क्षेत्रको सम्भावना र व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनको क्रममा इस्मा गाउँपालिका ५ का युवा कृषक किसान कुँवरद्वारा सञ्चालित स्मार्ट वाइल्ड लाइफ एण्ड एग्रो एनिमल रिसर्च सेन्टर, विभिन्न सहकारी तथा गुड–खुदो उद्योगहरूको पनि अनुगमन गरिएको थियो ।

अनुगमनमा उद्यमी तथा कृषकहरूले भोगिरहेका समस्या र गुनासो संकलन गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष्य मृगेन्द्र प्रसाद श्रेष्ठले जिल्लामा कृषि उपज भण्डारणका लागि अत्याधुनिक कोल्ड स्टोरको आवश्यकता रहेको बताउनु भएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अर्यालले पछिल्लो समय जिल्लामा उद्योग दर्ता भन्दा बन्द हुनेको संख्या बढ्दै गएको जानकारी गराउनु भएको थियो । उहाँले प्रदेश सरकारलाई नयाँ प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन, कृषकलाई बैंक ब्याजमा अनुदान, जिल्लाको आवश्यकता अनुसार योजना निर्माण र उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको औँल्याउनु भयो ।

उद्यमीहरुले जिल्लामा कार्यालयबाट तालिम लिएर पनि उद्यम नगर्ने प्रवृत्ति बढ्दै गएको तथा कृषकहरुलाई नगद अनुदान भन्दा प्रविधिमै आधारित सहयोग प्रभावकारी हुने धारणा राख्नु भएको थियो । उहाँहरुले स्थानीय तहले व्यावसायिक उद्यमीलाई सहयोग नगरेको भन्दै गुनासो समेत व्यक्त गर्नु भएको थियो ।

समितिका सभापति एवं प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको उक्त अनुगमन समितिमा सदस्यहरू तुलसी प्रसाद चौधरी, तुल्सीराम शर्मा, हेमा बेल्वासे केसी, भगवती कुमारी थरुनी, रेवती गुरुङ तथा समिति सचिव कमला पौडेल पोखरेल लगायत रहनु भएको थियो ।