गुल्मीमा तीन आर्थिक वर्षमा १७८ आत्महत्याका घटना 

admin

२०८३ बैशाख १६ गते, बुधबार १७:३१ मा प्रकाशित

गुल्मी, १६ वैशाख । गुल्मी जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको अपराध न्यूनीकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा १७८ आत्महत्याका घटना दर्ता भएको बताउनुभयो । त्यसैगरी भवितव्य ज्यान मुद्दाको संख्या पनि बढ्दो संख्यामा रहेको सारुले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ देखि २०८२÷८३ सम्म भवितव्य ज्यान सम्बन्धी जिल्लामा ११६ मुद्दा दर्ता भएका छन् ।

पछिल्लो तीन वर्षमा गुल्मीमा ६ वटा कर्तव्य ज्यान र ८ वटा कर्तव्य ज्यान उद्योगका मुद्दा दर्ता भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा प्रस्तुत गरिएको पछिल्लो बिवरण अनुसार मुसिकोट नगरपालिका, रेसङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा सबै भन्दा धेरै अपराधका घटना भएका छन् ।

अपराधिक घटनामा संलग्न हुनेहरुमा १९ वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको बताइएको छ । त्यसैगरी प्रहरीले अनलाइनबाट १ करोड ५९ लाख रुपैयाँ भन्दा बढी रकम ठगी भएकोे बताईएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले यसका लागि प्रहरी‐प्रशासनदेखि स्थानीय तहहरुले ठोस योजना बनाएर अघि बढ्नु पर्ने सुझाब दिनुभएको थियो । अन्र्तक्रियामा नगरपालिकाका तथा गाउँपालिका उपप्रमुख एवं उपाध्यक्षहरुले अपराध न्यूनिकरण विषयमा स्थानीय स्तरसम्म पुगेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अपराध न्यूनीकरणका लागि स्थानीय तहदेखि सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयोे । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले अपराध न्यूनिकरणका लागि जिल्लामा समन्वय र सचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिनुभएको थियो ।