गुल्मीमा मदिरा बिक्री–वितरण र सेवनमा रोक

admin

२०८३ बैशाख २१ गते, सोमबार २१:५४ मा प्रकाशित

गुल्मी, २१ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई मध्यनजर गर्दै वैशाख २१ ग्तेदेखि लागुहुने गरि जिल्लाभर राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आज सोमबार बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ । सुरक्षा समितिको बैठकपछि जारी गरेको सूचना अनुसार पछिल्ला केही वर्षदेखि जिल्लामा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको निष्कर्ष समेत निकालिएको छ ।

यस सम्बन्धमा स्थानीय तह तथा अन्य सरोकारवालाबाट मदिरा नियन्त्रणका लागि पटक पटक अनुरोध आएपछि जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । जिल्लामा न्यून गुणस्तरका मदिरा बिक्री–वितरण नगर्न तथा नगराउन जिल्ला स्थित व्यवसायीलाई आग्रह समेत गरिएको छ । प्रशासनले सूचनाको अवज्ञा गर्ने जोकोहीलाई पनि प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मदिरा नियन्त्रण मार्फत जिल्लामा आपराधिक गतिविधि न्यूनीकरण, शान्ति सुरक्षा कायम गर्न र सामाजिक विकृति नियन्त्रणमा सहयोग पुग्ने बताईएको छ ।