चन्द्रकोटको रेमीमा होमस्टे सञ्चालन एवं व्यवस्थापन तालिम सम्पन्न

admin

२०८३ जेष्ठ १३ गते, बुधबार १८:०९ मा प्रकाशित

गुल्मी, १३ जेठ । चन्द्रकोट गाउँपालिका ा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत होमस्टे सञ्चालन तथा व्यवस्थापन स्तरोन्नति तालिम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष अन्तर्गत आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी तथा एड्भान्स सीप विकास तालिम अन्तर्गत रेमी सामुदायिक होमस्टेमा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले चन्द्रकोट गाउँपालिकामा पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै स्थानीय संस्कृति, रैथाने खानाका परिकार र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै होमस्टे प्रवद्र्धन गर्न सके ग्रामीण अर्थतन्त्र सबल बन्ने बताउनुभयो । उहाँले तालिमले सहभागीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले होमस्टे ग्रामीण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसे, वडाध्यक्ष बलबहादुर बस्नेत सहितका जनप्रतिनिधिहरु, कर्मचारी लगाउतको सहभागिता रहेको थियोे ।

तालिम अवधिभर होमस्टे सञ्चालन, पर्यटन प्रवद्र्धन, बजारीकरण, रैथाने पाककला, हाउसकिपिङ, गाइडिङ् सीप तथा सांस्कृतिक गतिविधि सम्बन्धी विषयमा पर्यटनविद् भुमराज तिवारीले प्रशिक्षण दिनुभएको थियो ।

सोही अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले आर्थिक वर्ष २०८१÷०८२ का लागि घोषणा गरेका गाउँ गन्तव्यहरू मध्ये उत्कृष्ट घरबास सञ्चालन गरेको भन्दै टिमुरे सामुदायिक होमस्टेलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेको छ । उक्त सम्मान होमस्टेका अध्यक्ष बलबहादुर पुनलाई गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले हस्तान्तरण गर्नुभएको थियो । जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा १७ जनाको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभएको छ ।