प्रथम लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

admin

२०८३ जेष्ठ १७ गते, आईतवार १८:५५ मा प्रकाशित

गुल्मी, १७ जेठ । जिल्ला ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सञ्चालित प्रथम लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवशको अवशरमा जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेश अन्र्तगत गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका ब्याडमिन्टन संघ तथा क्लबहरूको सहभागिता रहेको थियो ।

विभिन्न छ वटा विधामा सञ्चालन भएको उक्त खेलमा एक सय २० टिमका दुई सय २८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका सचिव चतुर्भुज पन्थीले जानकारी दिनुभएको छ । प्रतियोगितामा सबै भन्दा आकर्षक मानिएको खुल्ला पुरुष डबल (ए प्लस बी) तर्फ टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको टिमले उपाधि जित्दै रु ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्ला ब्याडमिन्टन संघ गुल्मीका विवेक न्यौपाने र संजोग थापाको टिम दोश्रो भएको छ भने मदन खड्का र अरविन श्रीपाली तथा रविन केसी र हिमान्सु कुँवर संयुक्त रुपमा तेश्रो भएको थियो । उनीहरुलाई रु २५ हजार र १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी मास्टर्स पुरुष डबल (३५ वर्ष र ४५ वर्ष माथि) तर्फ जिल्ला ब्याडमिन्टन संघ गुल्मीको तर्फबाट महेश काउछा र राजन काउछाको जोडीले उपाधि जित्दै रु ३५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त खेलमा लाफा समूह बुटवलका पुरन गाहा र प्रसाद गुरुङ द्वितीय भए भने पदम राना र डम्बर राना तथा कृष्णबहादुर थापा र हेमबहादुर श्रीस तृतीय बनेका थिए ।

प्रतियोगिता अन्तर्गत मास्टर्स पुरुष डबल ५५ वर्षमाथि (सुपर भेट्रान्स) तर्फ लुम्बिनी स्पोट्र्स बुटवलका खगेन्द्र रेगामी र निरबहादुर रानाको जोडी प्रथम हुँदै रु २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । लाफा समूहका राजु गुरुङ र राजेन्द्र गुरुङ द्वितीय तथा बुटवल ब्याडमिन्टन क्लबका सुदीप कँडेल र गोपाल टण्डन र जिल्ला ब्याडमिन्टन क्लबका नवराज श्रेष्ठ र ज्ञानबहादुर भलामी तृतीय बनेका थिए ।

खुल्ला भूपू सैनिक डबलतर्फ जिल्ला ब्याडमिन्टन संघ गुल्मीका कृष्ण राना र विष्णुबहादुर थापाको जोडीले प्रथम स्थान हासिल गर्दै रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । फिट एण्ड फाइन बुटवलका पुरन राना र दलबहादुर थापा दोश्रो भएका थिए भने हिमाल थापा र चित्र थापा तथा खेम सारु र डम्बर रानाको टोलीले तेश्रो स्थान हासिल गरेको थियो ।

खुल्ला पुरुष डबल (लेभल) तर्फ सुमन बुचा र गुप्पा पाटाको जोडी प्रथम भएको छ । कृष्ण पुलामी र विशाल थापा दोश्रो भएका छन भने सुरेन्द्र गाहा र गिरु राना र समसुल कलाम र सुजल रायमाझी तेश्रो भएका थिए । खुल्ला पुरुष सिंगलतर्फ टासु युनाइटेड गुल्मीका डेविड थापा मगर प्रथम, बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी दोश्रो तथा विवेक अधिकारी र हिमान्सु कुँवर तृतीय भएका थिए ।

कार्यक्रममा बोल्दै इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले प्रदेश स्तरीय प्रतियोगिताले जिल्लाको पहिचान बढाउनुका साथै खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता खेलकुद गतिविधिलाई स्थानीय तहबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताउनु भएको थियो ।

सोही अवसरमा संघका मानार्थ सदस्यहरूलाई सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष भरत थापाले बताउनु भएको छ ।