गुल्मीमा कबड्डी संघको तदर्थ समिति गठन

admin

२०८३ जेष्ठ १८ गते, सोमबार १६:३२ मा प्रकाशित

गुल्मी, १८ जेठ । जिल्लामा कबड्डी खेलको विकास गर्ने उद्देश्य सहित पहिलो पटक गुल्मी कबड्डी संघको तदर्थ समिति गठन गरिएको छ ।

प्रदेश कबड्डी संघ लुम्बिनीको पहलमा आयोजित भेलाबाट अमृत रानाको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरिएको हो । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा सुवास बलाल, उपाध्यक्षमा दीपक श्रीस, सचिवमा सूर्य कुँवर र कोषाध्यक्षमा रजत सिंह ठकुरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा हरि बहादुर श्रीस, गीता पुँवारे, सलीना ढेंगा, सागर सोमै, समीक्षा रेश्मी र गिरीप्रसाद महाकिम रहनुभएको छ ।

भेलामा बोल्दै लुम्बिनीनप्रदेश खेलकुद परिषद्का सदस्य महेश काउछाले कबड्डी नेपालको मौलिक तथा लोकप्रिय खेल भएकाले यसको विकास र प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा कबड्डी खेलको गतिविधिलाई व्यवस्थित बनाउँदै प्रतिभावान खेलाडी उत्पादनमा नवगठित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश कबड्डी संघ लुम्बिनीका अध्यक्ष जनक खत्रीले संघ गठनसँगै जिल्लामा कबड्डी प्रतियोगिता, प्रशिक्षण लगायतका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइ मद्दत पुग्ने बताउनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष रानाले जिल्लामा कबड्डी खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा संघलाई सक्रिय र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उक्त भेलाको सञ्चालन प्रदेश कबड्डी संघ लुम्बिनीका सचिव दिनेश आचार्यले गर्नुभएको थियो ।