लागुऔषध दुरुपयोग विरुद्ध गुल्मीमा साताव्यापी सचेतना अभियान

admin

२०८३ असार ३ गते, बुधबार ०७:२७ मा प्रकाशित

गुल्मी, २ असार । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा गुल्मीमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना स्वीकृत गरिएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । कार्ययोजना अनुसार शुभारम्भको अवशरमा असार ६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा तथा अन्तरक्रिया कार्यक्रम गरिनेछ । असार ८ र ९ गते जिल्लाका विद्यालय तथा कलेजहरूमा लागुऔषध दुरुपयोग िवरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, असार ६ देखि १२ गतेसम्म जोखिम सम्भावित क्षेत्र, सवारी साधन, होटल तथा बजार क्षेत्रमा आकस्मिक चेकजाँच तथा सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यसैगरी औषधि व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।

बैठकले लागुऔषध नियन्त्रणलाई स्थानीय तहको नीति, कार्यक्रम तथा वार्षिक बजेटमा समावेश गर्न जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै, लागुऔषधजन्य खेती, ओसारपसार, बिक्रीवितरण तथा सेवन नियन्त्रणका लागि सुरक्षा निकायबाट निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइने भएको छ ।

लागुऔषधको जोखिममा रहेका समूहलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ ।