गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको मृत्यु भएको छ 

admin

२०८३ असार १७ गते, बुधबार १२:३९ मा प्रकाशित

गुल्मी, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिएका छन्।

गएराती करिब १:३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याई पराइएकोमा राती ३ः२५ बजे चिकित्सकद्वारा उॅहालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छोड्नु भएको थियो ।

घटनापछि करेन्ट प्रवाह गर्ने मृतकका श्रीमान भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको बारेमा थप अनुषन्धानका लागि प्रहरी टोली बिहानै घटना स्थल पुगिसकेको र अनुषन्धान शुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।