तीजको खर्च कटौती गरी रसुवाका बाढीपीडितलाई आमा समुहद्वारा ५१ हजार सहयोग

admin

२०८३ भाद्र १६ गते, मंगलवार २१:२७ मा प्रकाशित

गुल्मी, १६ भदौ । रेसुङ्गा नगरपालिका–८ स्थित लेखबेँसी आमा समूहले यस वर्ष तीजको दरखाने कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाकी अध्यक्ष तारा पौडेलका अनुसार समूहले तीज विशेष कार्यक्रमका लागि हुने खर्च कटौती गरी बाढीपीडितको राहतका लागि रु. ५१ हजार १२१ सहयोग गर्ने निर्णय गरेको हो।

२०६५ साल मंसिरमा स्थापना भएको यस आमा समूहले हरेक वर्ष हर्षाेल्लासका साथ दिदीबहिनीहरू भेला भई दर खाने र तीज मनाउने कार्यक्रम गर्दै आएको थियो। तर यस वर्ष प्राकृतिक विपत्तिमा परेका नागरिकको घाउमा मलम लगाउन सांस्कृतिक खर्चलाई सामाजिक सेवामा लगाइएको अध्यक्ष पौडेलले बताउनुभयो।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको यस आमा समूहले यसअघि पनि विभिन्न जटिल बिरामी, क्यान्सर पीडित तथा आगलागीबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

फजुल खर्च नियन्त्रण गरी विपद्का बेला मानवीय सहायतामा जुट्ने आमा समूहको यो कदम सामाजिक क्षेत्रमा सह्रानीय काम भन्दै स्थानीयहरूले प्रशंसा समेत गरेका छन्।