२१ आश्विन २०८३, बुधबार
खोजमूलक पत्रकारितामा जोड दिन गुल्मीका प्रजिअ सापकोटाको आग्रह
गुल्मी, २१ असोज । गुल्मीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सञ्चारकर्मीहरुलाई जनआवाज उजागर गर्न खोजमूलक पत्रकारितामा जोड दिनुभएको छ । हालै गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकरीको जिम्मेवारी सम्हाल्न गुल्मी आईपुग्नु भएका प्रजिअ सापकोटाले बुधबार स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलको क्रममा उक्त कुरा बताउनु भएको हो ।
जिल्ला स्थित सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुरा गर्दै उहाँले सत्यतथ्य समाचार सम्प्रेषणले मात्र समाजलाई सुसूचित गराउन सकिने बताउनुभयो । प्रशासन र सञ्चार माध्यम बिचको सहकार्यले मात्र सुशासन कायम हुने प्रजिअ सापकोटाको भनाइ थियो । “सतही भन्दा पनि पृष्ठभूमि सहितको खोजमूलक समाचार सम्प्रेषण गर्नु होला,” उहाँले भन्नुभयो, “यसले प्रशासनलाई आफ्ना कामकारबाही सच्याउन र सही निर्णय लिन पनि मद्दत पुग्छ ।”
छलफलका क्रममा उहाँले बजार अनुगमन र उपभोक्ताको अधिकार संरक्षणलाई प्राथमिकता दिने बताउनु भएको छ । उहाँले प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसका साथै कालोबजारी, मूल्यवृद्धि र अखाद्य वस्तु बिक्री नियन्त्रण गर्न नियमित बजार अनुगमन गरिने उहाँले स्पष्ट पार्नुभयो ।
भेटघाटको क्रममा स्थानीय सञ्चारकर्मीहरूले जिल्लाको शान्ति–सुरक्षा, विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र प्रशासनिक सेवाका समस्या लगायतको बारेमा प्रजिअलाई ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी सापकोटाले पत्रकारहरूले दिएका रचनात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने बताउनु भएको थियो ।
यससँगै प्रमुख जिल्ला अधिकारी मोतीराज सापकोटाले नागरिकलाई सहज र पारदर्शी रूपमा सेवा प्रवाह गर्नुका साथै जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पनि आफ्नो प्रमुख दायित्व भएको बताउनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसीले गर्नुभएको थियो ।

