६ कार्तिक २०८३, बिहीबार
गुल्मी कारागारमा कैदीबन्दीले टीका लगाएर साटे खुसी
गुल्मी, ४ कात्तिक । विजया दशमीको दिन आज गुल्मी कारागारका कैदीबन्दीले यस वर्ष पनि एकआपसमा टीका र जमरा लगाएर दसैँ पर्व मनाएका छन् । कारागार भित्र रहेका कैदीबन्दीले एकआपसमा टीका लगाइदिँदै शुभकामना आदानप्रदान गरेर खुसी साटासाट गरेका हुन् ।
कारागारमा रहेका केही कैदीबन्दीले आफन्तबाट टीका लगाएका छन् भने आफन्त आउन नसकेका केही कैदीबन्दीले कारागार भित्रै रहेका ज्येष्ठ कैदीबन्दीको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिएका हुन् । आफन्तको अनुपस्थितिमा टीका लगाउन नपाएका कैदीबन्दीले पनि कारागार भित्रै टीका र जमरा ग्रहण गरी दसैँ मनाएको कारागारका नाइके हरिबहादुर थापाले जानकारी दिनुभयो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले दशै‐तिहार जस्ता मुख्य चाडपर्वहरुमा कैदीबन्दीहरुले कारागार भित्रै पर्व मनाएर खुसि साटासाट गर्ने गरेको बताउनुभयो । विविध परिस्थितिका कारण कारागारमा बस्दै गर्दा चाडपर्वको समयमा आफुहरुले पनि साँस्कृतिक परम्परा अनुसार दसैँको मनाएको कैदीबन्दीहरुले बताएका छन् ।
हाल गुल्मी कारागारमा ९१ पुरुष र छ महिला गरी ९७ कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा तीन गुणा भन्दा बढी कैदीबन्दी राखिएको छ । साधुँरो ठाउँका तोकीए भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा कारगार प्रशासनलाई व्यवस्थापनमा थप समस्या थपिदै गएको बताईएको छ ।
कारागार भित्र रहेका कैदीबन्दीले काठका सामग्री बनाउने,मुढा बुन्ने, ढाकाका कपडा तथा स्विटर बुन्ने लगायत सीपमूलक र आयआर्जनका काम गर्दै आईरहेका छन् । ती कामबाट उनीहरूले मासिक रुपमा न्यूनतम सात हजारदेखि अधिकतम ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यसरी कमाएको रकमबाट कैदीबन्दीले चाडपर्वका बेला आफ्नो घरपरिवारलाई खर्च समेत पठाउने गरेको बताईएको छ ।

