चाँडपर्व लक्षित पुष्पखेतीमा कृषक गोकर्ण

admin

२०८० आश्विन २१ गते, आईतवार ०७:३१ मा प्रकाशित

 

गुल्मी, २१ असोज । गुल्मीको इस्मा गाउँपालिकाका एक युवाले गाउँमा व्यवसायिक रूपमा पुष्प खेती गरेका छन । कृषि कर्मलाई आफ्नो मुख्य व्यवसाय बनाएका इस्मा गाउँपालिका ३ का गोकर्ण नेपालीले पुष्प खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन ।

 

गाउँपालिकाले त्यस क्षेत्रका कृषकलाई पुष्प खेती तर्फ आकर्षित गरि बाहिरबाट आयात हुने खादालाई निरुत्साहित गर्ने लक्ष्य अनुसार नेपालीले गाउँमै व्यावसायिक रूपमै पुष्प खेतीमा लागेका हुन । पालिकाले गाउँमा उत्पादन भएको पुष्पलाइ हरेक कार्यक्रममा प्रमुख प्राथमिकता दिने बताएको छ । गाउँमा यसअघि कुनैपनि कृषक यसरी व्यवसायीक रूपले पुष्प खेतीमा लागेका थिएनन् ।

 

पछिल्लो समयमा जिल्लामा गाउँपालिका र स्थानीय संघ संस्थाहरूले आयोजना गर्ने औपचारिक कार्यक्रममा बिस्तारै खादाको प्रयोगलाई निरुत्साहित गर्दै जान थालेको अबस्थामा फूलका मालाको प्रयोग बढ्न थालेको छ । नेपालीले पुष्प खेती गरि इस्मा गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन थालेका छन । गोकर्णले पुष्प खेतीलाई व्यवसायीकरण गरेको हुँदा थप प्रोत्साहन गर्नका लागि गाउँपालिकाले साठी हजार रूपैयाँ अनुदान उपलब्ध गराएको छ । नेपालीले पालिका र आफ्नो व्यक्तिगत लगानीमा आठ रोपनी बाँझो जग्गामा ६ हजार भन्दा बढी फूलका बिरुवाहरू लगाएका छन ।

नेपालीले तीन वटा ब्याडमा ६ हजार फूलका बिरुवाहरू लगाएका छन । ती बिरुवाहरू फरक–फरक समयमा फुल्ने भएका कारण उनको बारीमा जतिबेला पनि फूलको कमी छैन । बारीमा ढकमक्क फुलेका फूलहरूले त्यहाँ पुग्ने जोकोही पनि मन लोभ्याई रहेको हुन्छ । सदरमुकाम तम्घासमा आयोजना हुने धेरै कार्यक्रममा फूलको मालाको माग धेरै आउन थालेको गोकर्णले बताए । दैनिक रूपमा आयोजना हुने कार्यक्रमहरूमा आजभोली खादाको सट्टामा फूलको मालाको माग बढेदै जान थालेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले बताए । नेपालीले यो सिजनमा दुई लाख बराबरको फूल बिक्रि गर्ने लक्ष्य राखेको बताए । उनले यो सिजनमा दुई लाख भन्दा बढिको फूल बिक्रि गर्ने योजना बताएका छन । नेपालीले आफुले गरेको हरेक काममा स्थानीय सरकारले अभिभाकत्व निर्वाह गर्दै आएको बताए ।

 

जिल्लाका अन्य पालिकाहरूमा पुष्प खेती बिस्तारका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, घरेलु जस्ता कार्यालयहरूले प्राविधिक सहयोग र आर्थिक अनुदान उपलब्ध गराउनु पर्नेमा नेपालीको जोड छ । इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले पालिकाको तर्फबाट धेरै कृषकहरूलाई व्यावसायीक रूपमै पुष्प खेती गर्न आग्रह गरेपनि नेपाली बाहेक अन्य कसैले चासो नदेखाएको बताईन । उनले केही गरौं भनेर आत्म विश्वास बोकेका कृषकहरूलाई पालिकाले हौसला प्रदान गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन । गोकर्ण जस्तै गुल्मीको रेसुङ्गा नगरपालिका दशका कृषक बिनोद कुँवर पनि तीन वर्षदेखि व्यावसायीक रूपमा पुष्प खेती गर्दै आएका छन