गुल्मीका केहि स्थानमा अझै देख्न सकिन्छ काठेपिङ (चर्खेपिङ)

अनिल खत्री

२०८० कार्तिक १० गते, शुक्रबार २१:०७ मा प्रकाशित

 

१० कात्तिक, गुल्मी । दशैंका बेला खेलीने काठेपिङ (चर्खेपिङ) हराउदै जान थालेको छ । काठबाट तयार गरिएको पिङ पछिल्लो समय आधुनिकतासँगै हराउदै जान थालेको हो ।

मेला महोत्सवमा ठूला खालका पिङहरु ल्याउने गर्नाले गाउँमा स्थानीय स्तरमै तयार पारिएको काठेपिङ हराउदै जान थालेको हो । तर पछिल्लो समय गुल्मी जिल्लाका केहि स्थानमा भने अझै पनि काठेपिङ (चर्खेपिङ) देख्न सकिन्छ ।

जिल्लाको पश्चिम इस्मा, मालिका मदाने तिर अझै पनि काठबाट तयार गरिएको काठेपिङ भेटिन्छन् । यो पिङ दशैंका बेला खेलिने सराय नाच हुने स्थानमा खेल्ने गरिन्छ ।

यतिबेला गुल्मी जिल्लाका विभिन्न स्थानमा दशैंको टिकापछि सराय नाँच भइरहेका छन् । ती स्थानहरुमा व्यवसायीक रुपमै काठेपिङ लिएर हिड्ने गर्दछन् ।

दशैंका बेला हुँने रमाइलो मेलाहरुमा पछिल्लो समय काठेपिङ (चर्खेपिङ) पनि पर्ने गर्दछन् । सराय नाँच हुने स्थानमा आयोजकले पनि काठेपिङ राख्ने व्यवस्था मिलाउने गरेका छन् ।

सराय नाँच हुँने चर्चित स्थान मध्ये इस्मा गाउँपालिकाको वडानम्बर ६ को बुल्म चौर पनि पर्दछ । त्यस स्थानमा सराय नाँचमा काठेपिङको आकर्षण निकै देखिएको थियो ।

सराय नाँचको संरक्षणमा वडा कार्यालयले नै सक्रियता देखाएर कार्यक्रम राखिएको थियो । त्यस स्थानमा काठेपिङको निकै आकर्षण देखिएको थियो ।

पुराना कलासंस्कृतिको संरक्षण गर्नु पर्छ भनेर स्थानीय सरकारले यसवर्षबाट सक्रिया देखाउँदै आएको इस्मा गाउँपालिका वडानम्बर ६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले बताए । मौलिक कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले यसवर्षदेखि थप सक्रियताका साथ अगाडी बढेको बताए ।

हराउँदै जान लागेको काठबाट तयार गरिएको काठेपिङलाई पनि दशैं सराय नाँचमा राखिएको कुँवरले बताए । काठेपिङ खेल्नेहरुले प्रति व्यक्ति पचास रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

काठेपिङ व्यवसायीहरुले दशैंको समयमा मात्रै चलाएर राम्रो आम्दानी गर्ने गर्दछन् । यो पिङ चलाउन आवश्यक जनशक्ति पनि चाहिन्छ ।

वर्षको एक दिन पिङ खेल्नु पर्छ भन्ने मान्यता पनि रहि आएको छ भने रमाइलोका लागि पनि पिङ खेल्ने गरिन्छ ।