१८ आश्विन २०८३, आईतवार
गुल्मीदरबारमा स्वास्थ्य समस्या समाधान गर्न साथी शिक्षा
गुल्मी, १७ असोज । किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे सही जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘साथी शिक्षा’ कार्यक्रमलाई विद्यालय स्तरमा विस्तार गरेको छ ।
किशोरकिशोरीहरुले आफ्ना स्वास्थ्य सम्बन्धी जिज्ञासा तथा समस्याको बारेमा अभिभावक र शिक्षक भन्दा साथीहरूसँग सहज रूपमा खुलेर कुरा गर्ने भएकाले गाउँपालिकाले विद्यार्थी मार्फत नै विद्यालयमा उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तर्गत विद्यार्थीहरूलाई एक‐आपसमा स्वास्थ्य सम्बन्धी विभिन्न सूचना तथा सन्देश आदानप्रदान गर्दै सचेतना अभिवृद्धि र सकारात्मक स्वास्थ्य व्यवहार प्रवद्र्धन गर्न थप मद्दत पुग्ने गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले बताउनु भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयबाट दुई‐दुई जना विद्यार्थी छनोट गरी उनीहरूलाई दुईदिने प्रशिक्षक प्रशिक्षण तालिम समेत प्रदान गरिसकिएको अर्यालले बताउनुभयो । तालिममा किशोरावस्थामा आउने शारीरिक तथा मानसिक परिवर्तन, संवेगात्मक उतारचढाव, सामाजिक व्यवहार लगायत विषयमा विद्यार्थीलाई जानकारी प्रदान गरिएको थियो ।
प्रशिक्षक प्रशिक्षणमा सहभागि विद्यार्थीहरुले विद्यालयमा आफ्ना साथीलाई स्वास्थ्य सम्बन्धी आवश्यक सूचना तथा सकारात्मक सन्देश प्रवाह गर्ने भएका छन् । स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले विद्यालय स्तरबाट सुरु गरिएको ‘साथी शिक्षा’ अभियानले किशोर किशोरीमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउनुका साथै स्थानीय स्वास्थ्य सुचक सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।
“किशोरकिशोरीले आफ्ना समस्या साथीहरूसँग सहज रूपमा राख्ने भएकाले उनीहरू मार्फत सही स्वास्थ्य सूचना प्रवाह गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास छ,” स्वास्थ्य अधिकृत अर्यालले भन्नुभयो । गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका भित्रका माध्यमिक तह तथा निम्न माध्यमिक तहका १४ वटा विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन भईरहेको छ ।
गाउँपालिकाले पछिल्लो समयमा प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य र विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर एकीकृत रूपमा काम गर्दै आईरहेको जनाएको छ । विद्यालयमा गठन भएको ‘साथी शिक्षा’ सञ्जाललाई समुदाय स्तरसम्म विस्तार गरी स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने गाउँपालिकाले जनाएको छ ।

