भोलिदेखि संचालन हुने गुल्मी महोत्सवको तयारी पुरा

अनिष पन्थी

२०८० कार्तिक १४ गते, मंगलवार १६:१८ मा प्रकाशित

 

गुल्मी । गुल्मीमा भोलिदेखि संचालन हुने प्रथम गुल्मी ऐतिहासिक गुल्मी महोत्सवको तयारी सकिएको छ । भोलि अर्थात कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा हुने महोत्सवको तयारी पूरा भएकाे आयोजक उद्योग संघ गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

“उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा” समुन्नत गुल्मीका लागि जाउ हिड रेसुङ्गा भन्ने मुल नारा सहित हुने गुल्मी महोत्सव पहिलो पटक उपल्लो तम्घासमा हुँदै छ ।

महोत्सवमा तीन स्टल रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयाे। गुल्मी महोत्सवमा प्लाष्टिकजन्य फूल र खादा प्रयोगलाई निरूत्साहित गरिने बताईएकाे छ। जिल्लाका सबै स्थानीय तहमा पुगेर सबैलाई महोत्सवको निमन्त्रणा दिई सकिएकाे आयोजकले जनाएको छ।

महोत्सव अवलोकन गर्न तम्घास बजारदेखि उपल्लो तम्घाससम्म निशुल्क बसको व्यबस्था गरिएको छ । महोत्सवको पहिलो दिन भोलि दस बजेदेखि शोभायात्रा हुने आयोजकले जनाएको छ।

११ दिनसम्म संचालन हुने गुल्मी महोत्सवमा ६० करोड बराबरको काराेवार हुने अपेक्षा राखिएकाे छ । महोत्सवमा करिब ८ दर्जन कलाकारहरूकाे साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। गुल्मी महोत्सवमा जिल्लाका स्थानीय कलाकारलाई बढि स्थान दिइएको छ। महोत्सव अवधिभर जिल्लाका ६७ जना र राष्ट्रिय २३ जना कलाकार रहने बताइएकाे छ ।

महोत्सवको मुख्य उदेश्य तम्घासस्थान देवी भगवतीको ऐतिहासिकता,शक्ति र प्रबर्दन गर्नु रहेको आयोजकले जनाएको छ । तम्घासस्थान मन्दिर काठमाण्डौंको पशुपतिनाथ मन्दिरपछिको पश्चिम क्षेत्रको सबै ठूलो इतिहास बोकेको मन्दिर हो । रेसुंगा नगरपालिका वडा नम्बर-९ अर्जुन डाडाँको फेदीमा अवस्थित यस मन्दिरसँग भुरेटाकुरे राजासँगको इतिहास जोडिएको छ । विवाह गरेर यस क्षेत्रहुँदै दुलही लिएर जाने वा यस क्षेत्रमा दुलही भित्राउनेले अनिवार्य रूपमा वलि दिने चलन रहेको छ।