२४ आश्विन २०८१, बिहीबार
गुल्मी काँग्रेसले मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्दै
गुल्मी, कात्तिक १६ गते । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
यस जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकिएको भन्दै अब आगामी मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारीमा गुल्मी काँग्रेस लागेको सभापति पन्थीले बताउनुभयो ।
पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडी बढाउनका लागि पनि सम्मेलनको अति नै आवश्यकता रहेको भन्दै सबैको सल्लाह एवम् सुझावमा दोस्रो जिल्ला सम्मेलनलाई मंसिर पहिलो हप्ताभित्र सम्पन्न गर्ने निर्णय भएको छ । तर अहिले नै मिति भने तय नगरिएको सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।
बैठकमा आएका विचार र सुझाव सल्लाहका आधारमा सबै नेता एवम् कार्यकर्ताको मनोभावना अनुसार पार्टीका आगामी कार्यक्रमहरु तय गरिने भन्दै दोस्रो जिल्ला सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
कात्तिक २२ गते एकै दिन जिल्लाका १२ वटै स्थानीय तहमा पार्टीको दोस्रो जिल्ला सम्मेलनको तयारी बैठक बस्ने भएको सचिव जगदीश भट्टराईले बताउनुभयो । सम्मेलन तयारी बैठकका लागि गुल्मी काँग्रेसले जिल्ला प्रतिनिधि समेत स्थानीय तहमा खटाएको छ ।
सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन उद्घाटन शत्र वृहत भेला तथा आमसभा र दोस्रो दिन बन्द शत्र पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत, नेता कार्यकर्तालाई प्रशिक्षणसहित सांगठनिक भावी योजनाको बारेमा जानकारी गराइनेछ । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुने बताइएको छ ।
लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, स्थानीय तहका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका सभापतिहरुको उपस्थिति रहेको सो बैठकमा जिल्ला पार्टी संगठनको बारेमा व्यापक छलफल भएको सचिवालयले जनाएको छ ।