३ चैत्र २०८१, सोमबार
गुल्मीमा भुस्याहा कुकुरले टोकेर १७ जना घाइते

२३ कात्तिक, गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले टोकेर १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा बुधबार र बिहीबार कुकुरले टोकेर घाइते १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घाइते सबैलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि मिसन अस्पताल पाल्पामा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । कुकुरले अधिकांशको खुट्टामा टोकेर घाइते भएका छन् ।
कुकुरले टोकेर घाइते मध्ये १३ वर्षीय किशोरदेखि ७५ वर्षीया महिलासम्म रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले भुस्याहा कुकुरदेखि सावधान रहन आग्रह गरेको छ ।
प्रहरीले स्थानीयसँगको सहजीकरणमा टोक्दै हिड्ने भुस्याहा कुुकुरलाई नियन्त्रणमा लिएको छ । केही समय अगाडि गुल्मीको सदरमुकाम तम्घासमा पनि भुस्याहा कुुकुरले टोकेर थुप्रैलाई घाइते बनाएको थियो ।
यस्तै केहि महिना अघि गुल्मी दरबारमा कुकुरले टोकेर एक जना महिलाको मृत्यु समेत भएको थियो ।