२४ आश्विन २०८१, बिहीबार
मुसिकोट नगरपालिका र जापानको बुङ्गोओना नगर बिच भगिनी सम्बन्ध स्थापित
गुल्मी, मंसिर १ । गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रान्तको बुङ्गोओना नगर बिच भगिनी सम्बन्ध स्थापनाका लागि सद्भावना भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगपालिका र बुङ्गोओना नगर बिच भएको मैत्रीपुर्ण भेटघाट कार्यक्रममा दुई नगरबीच स्थानीय उत्पादन र जापानी उत्पादनको आदान प्रदानका साथै कृषि क्षेत्रको प्रवद्र्धन लगायतका बिषयमा सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
मुसिकोट नगरिपालिका प्रमुख जीवलाल खरेलले बुङ्गोओनो नगरका नगरप्रमुख फुमितोसी खवानो सहितको पाँच सदश्यीय प्रतिनिधि टोलीलाई नगरमा स्वागत गर्दै मुसिकोटको विकास निर्माणदेखि कृषि र पर्यटकीय क्षेत्रहरुको स्थलगत अनुगमन समेत गराउनु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख खरेलले माउन्ट फुजी भएको देशबाट आएका जापानी पाहुनाहरुलाई माउन्ट एभरेस्ट भएको देशमा स्वागत गर्दै सप्तरंगी टीका र झिलिमिलि बत्तीको उल्लासमय पर्वमा दुई देशका दुई नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरि भ्रातृत्व भाव बढाउने कार्यको निम्ति संयोगले यो समय जुर्नुलाई आफुहरुले शुभ संकेतका रुपमा लिएको बताउनु भएको थियो ।
नेपाल र जापान दुई राष्ट्रका बीचमा निकै पुरानो दौत्य सम्बन्धलाई अबका दिनहरुमा कृषि प्रविधी, उत्पादनमूलक उद्योगमा लगानी र आधुनिक सीपयुक्त जनशक्ति विकास र उत्पादनको बजारका साथै शासन र प्रशासन सञ्चालनका अनुभव साटासाट गर्ने कुरामा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा गुल्मीको वामीवाट जापानमा गई कृषि तथा अन्य व्यवसायमा सफल उद्यमीको रुपमा चिनिनु भएका रोशन केसी, सुरेश केसी, भुषण घिमिरे, प्रोफेसर डा .ताराप्रसाद सापकोटा सहितका व्यक्तिहरुको सहयोग, समन्वय तथा पहलमा दुई नगरबीच भगिनी सम्बन्ध जोडने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
सोही कार्यक्रममा बुङ्गोओनो नगरका नगरप्रमुख फुमितोसी खवानोले मुसिकोट नगरको भ्रमणले आफुहरु अत्यन्तै खुसि बनेको बताउदै यो भ्रमणले आफुहरुलाई पनि केही नयाँ कुरा सिक्ने अवशर मिलेको बताउनु भएको थियो । बुङ्गोओनो नगरका नगरप्रमुख सहितको टोलीले नेपालको कफीको जननी स्थान आँपचौरमा पुगि कफी खेतीको स्थलगत निरिक्षण समेत गरेको थियो ।
कार्यक्रमा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रसाशकीय अधिकृत बिनोद कुँवर, पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, कमला शर्मा लगायत जनप्रतिनिधि, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।