३ चैत्र २०८१, सोमबार
हरिबोधनी एकादशीमा रेसुङ्गामा पुजा गर्नेहरुको घुइँचो

७ मंसिर, गुल्मी । हरिबोधनी एकादशीको अबसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिशेष मेला एवं पुजा गर्ने भिड लागेको छ । हरिबोधनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गामा विहानैदेखि गुल्मी लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजन पुजा गर्नुका साथै मेल अवलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।
सदरमुकाम तम्घासदेखि अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिशेष मेलामा भिड बढेको रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।
एकदशीमा रेसुङ्गा पोखरीमा नुहाएमा भूल गरेर गरेका पापहरु नष्ट हुने मान्यताका आधारमा रेसुङ्गा पोखरीमा नुहाउन पुगेको गुल्मीदरबार जुभुङ्गकी पार्वती थापाले बताइन । उनले रेसुङ्गा क्षेत्रमा शुद्ध मनले पूजा पाठ गरेमा मनोकांक्ष पुरा हुँदै आएकाले रेसुङ्गा पुग्ने गरेको बताइन ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उदेश्यले रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।
यस अभियानबाट रेसुङ्गा क्षेत्रको प्रचारप्रसारसँगै १ लाख पर्यटक रेसुङ्गा लैजाने नगरपालिकाले लक्ष्य लिएको रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए । उनले रेसुङ्गामा लाग्ने मेलालाई मध्यनजर राखेर नगरपालिकाकाले सार्वजनिक बिदा दिएर यसक्षेत्रमा थप चहलपहल बढाउने काम नगरपालिकाले गरेको बताए ।
‘जाउँ हिंड रेसुङ्गा’ अभियान अन्तर्गत नगरपालिकाले विभिन्न खालका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने गौतमको भनाइ छ । त्रेता युगमा रेसुङ्गा क्षेत्रमा ऋष्यशृङ्गले तपस्या गरेका थिए ।
अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी शृङ्गऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यशृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ ।
यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यहि मान्यताकार आधारमा रेसुङ्गा धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिदै आएको हो । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।
रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।
रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक पनि कालोपत्रे भएको छ । अहिले कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज रहेको रेसुङ्गा मेलामा पुगेकी मनिसा रानाले बताइन ।
उनले रेसुङ्गा सोचेभन्दा सुन्दर बनेको बताइन । रेसुङ्गामा विभिन्न मन्दिरहरुसँगै पैदल मार्ग पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।
रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।
द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्चारी तदर्थानन्दले काचो खाना मात्रै खाएर वषौंदेखि तपस्या गर्दै आएका छन् ।
यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ । रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ ।
हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।
जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ । रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ । धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै बिश्वमै लोपउन्मुख गिद्दसँगै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् । हरीबोधनी एकादशी अबसरमा गुल्मी पाल्पा स्याङ्गजाको संगम स्थल रिडीमा ऋशीकेश उत्सवको अवसरमा रिडीमा धार्मिक मेला लाग्ने गर्दछ ।