गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

अनिल खत्री

२०८० मंसिर २२ गते, शुक्रबार १९:५९ मा प्रकाशित

२२ मंसिर, गुल्मी । प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा तम्घासमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा जानकारी गराइएको हो ।

सोही अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले पत्रकारले पत्रकारिताको मर्म र भावाना विपरीत काम गरिरहेकोले यसमा ध्यान दिनुपर्ने बताए ।

जागरण कार्यक्रममा उपस्थित क्रियाशील पत्रकारले गुनासाहरु समेत राखेका थिए । पत्रकार भन्दा बढी अनलाइन संचारमाध्यम खोलिएकोमा चिन्ता ब्यक्त गर्दै पत्रकारहरुले पत्रकारितामा रहिरहन समस्या परिरहेको समेत गुनासो गरेका थिए ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले काउन्सिल परिवारलाई गुल्मीमा स्वागत गर्दै जिल्लास्थित संचार माध्यमको अवस्थाको बारेमा जानकारी गराए । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सुचनाहरु पाउने बिषयमा गुल्मीमा सहज भएकोले र अझ बढी सहजता ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारिता क्षेत्रका समस्या बुझेको र त्यसको बिषयमा आफुहरु गम्भीर रहेको जानकारी गराएका थिए । उनले जिल्लाजिल्लामा आचार संहिताका बिषयमा जागरण कार्यक्रम गरिरहेको जानकारी दिए ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले आफूहरुले संचार माध्यमको अनुगमन र नियमन गरिरहेको बताए । उनले स्वः अनुगमन र उजुरीका आधारमा अनुगमन गरेको जानकारी समेत गराएका थिए ।

पत्रकारलाई जागरण गराउन जिल्लामा आचारसंहिताको जानकारी गराएका अधिकारीको भनाइ छ ।