गुल्मीमा वाल विवाह अन्त्य गर्ने प्रतिवद्धता

admin

२०८० पुष १२ गते, बिहीबार २१:३९ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, पुस १२ । गुल्मीका सबै स्थानीय तहहरुले जिल्लामा वाल विवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश वर्षे रणनीतिका अबस्था, कार्यान्वयनका चुनौती र सम्भावना एवं स्थानीय तहको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा जन प्रतिनिधिहरुले उक्त प्रतिबद्धता जनाएका हुन ।

ग्रामिण क्षेत्रमा अझै पनि कतिपय ठाउँमा सामाजिक परम्परा र सचेतनाको अभावमा कम उमेरमै लुकिछिपि बिवाह गर्ने परम्परा देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि समाजका सबै अगुवाहरु थप सचेत हुनुपर्नेमा जोड दिईएको छ । पालिकामा बालविवाहको अबस्था, भएका सफल अभ्यास र बालविवाह अन्त्यका लागि आगामी दिनमा आवश्यक रणनीति तयार गर्ने उद्देश्यले जिल्लामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

पछिल्लो समयमा स्थानीय तहहरुले सडक र भौतिक संरचना निर्माणमा मात्र ध्यान केन्द्रित गरेको तर सामाजिक क्षेत्रमा न्यून बजेट बिनियोजन गरि यस्ता सामाजिक सरोकारका विषय वस्तुमा खासै चासो नदिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका थिए । कार्यक्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले बालविवाह अन्त्यका लागि विद्यालय स्तरदेखि वडा, पालीका र जिल्ला स्तरसम्मका नागरिकहरुलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले चिल्लो सडक र चिटिक्क परेको भवनको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दा धेरैको ध्यान केन्द्रित हुने तर सामाजिक सरोकारका विषयमा गरेका कार्यक्रमहरु पोष्ट गर्दा थोरैको मात्र नजर पर्ने भन्दै यस्ता सामाजिक विषय बस्तुहरु छायाँमा पर्ने गरेको बताउनु भयो ।

सोही कार्यक्रममा लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव शारदा वस्यालले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि गरेका प्रयास, रणनीति, कार्यान्वयनका अवशर र चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यशालामा सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेलले पालिकामा भएका असल अध्यास र आगामि दिनमा प्रदेश, जिल्ला र पालिकाले बालविवाह अन्त्यका लागि गर्नु पर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, जिल्ला समन्वय समिति, सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य र युनीसेफ नेपालको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा १२ वटै स्थानीय तहका उपाध्यक्ष एवं जिल्ला स्थीत सरोकारवाला संघ संस्थाहरुको सहभागिता रहेको थियो ।