२४ आश्विन २०८१, बिहीबार
गुल्मीदरबारको गाउँ सभा एवं विधेयक अबिधेशन शुरु
जनार्दन घिमिरे
गुल्मी, पुस २६ । गुल्मीकोे गुल्मीदरबार गाउँपालिकाको चौंथो गाउँ सभा एवं चौधौं विधेयक अबिधेशन विहिबारदेखि शुरु भएको छ । गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष सरोज कुमार थापाले सभामा चालु आर्थिक वर्षमा पालिकाबाट भए गरेका मुख्य मुख्य कामहरुको प्रगति, देखिएका समस्या र भावि चुनौतिहरुको बारेमा सभामा जानकारी गराउनु भएको थियो ।
अध्यक्ष थापाले सभामा युवा उद्यम कार्यक्रम सञ्चालन गरि युवा उद्यमीहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरु सञ्चालन गरिएको, कृषि, शिक्षा, स्वास्थ्य, सडक, भवन, खानेपानी लगायतका कामहरुलाई प्रमुख प्राथमिकताका आधारमा अघि बढानुका साथै दीर्घ रोगीका लागि निःशुल्क औषधी उपलब्ध गराउदै आएको जानकारी गराउनु भयो ।
उहाँले पालिकामा कक्षा २ र ३ को स्थानीय पाठ्यक्रम लागु गर्न थालिएको, कृषकलाई आवश्यक ज्ञान, सीप र अनुदानको माध्यमबाट उनीहरुलाई आत्म निर्भर बनाउने खालका कार्यक्रमहरु सञ्चालन गरिएको, बालबालिकाहरुको क्षमता वृद्धिका अतिरिक्त सामाजिक कुप्रथा, कुरिति र कुसंस्कार अन्त्यका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
गाउँ सभा अध्यक्ष थापाले पालिका उपाध्यक्ष्य तारा थापा ढेगाको संयोजकत्वमा गठित न्यायीक समिति मार्फत आएका निवेदनलाई मेल मिलापको माध्यमबाट न्यायीक निरुपणका लागि आवश्यक व्यवस्था समेत मिलाईएको लगायत पालिकाले अहिलेको अबस्थासम्म आईपुग्दा गरेका महत्वपूर्ण उपलब्धिहरुको बारेमा बुँदागत रुपमा जानकारी गराउनु भएको थियो ।
उक्त गाउँ सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले चालु आर्थिक वर्षमा हालसम्म भएको वित्तिय प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो भने गाउँ सभा सदश्य मुकेश थापाले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धि विधेयक प्रस्तुत सभामा गर्नु भएको थियो ।