२४ आश्विन २०८१, बिहीबार
गाउॅपालिका र परियोजनाको सहयोगमा जुभुङ्मा घरघरमा खानेपानी
जनार्दन घिमिरे
गुल्मी, माघ ९ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकै पटक
दुईवटा खानेपानी आयोजना सम्पन्न गरिएको छ । गाउँपालिकाको वडा नं २ को जुभुङ्मा सुर्योदय खानेपानी तथा सरसफाई योजना र काभ्रेपोखरीमा ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरिएको हो ।
गुल्मीदरबार गाउँपालिका, ट्रीट्स परियोजना र स्थानिय समुदायको संयुक्त लगानीमा निर्मित खानेपानी योजनाको गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो। खानेपानी आयोजना निर्माण र संचालनमा सामाजिक परिचालनको काम नवप्रभात युवा संघले गरेको थियो।
सुर्योदय खानेपानी तथा सरसफाई योजना जुभुङ्ग कुल ८० लाख १६ हजार ४ सय ३१ रुपैयाँमा सम्पन्न भएकोमा गुल्मीदरबार गाउँपालिकाले ५१ लाख १७ हजार ४ सय ६ , ट्रीट्स परियोजनाले २३ लाख ४५ हजार २ सय ३५, समुदायको २ लाख र जनश्रमदान ३ लाख ५३ हजार ७ सय ९० रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै ठुलाखोला काभ्रे पोखरी खानेपानी तथा सरसफाई योजना १ करोड ५२ लाख ८० हजार २ सय ९८ रुपैयाँमा सम्पन्न भएको हो। सो योजनामा गाउँपालिकाको ९७ लाख ८३ हजार ६ सय ७३ रुपैयाँ, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार ३ सय ७५ रुपैयाँ, समुदायको नगद योगदान ५ लाख ९ हजार र समुदायको श्रमदान ५ लाख २ सय ५० बराबर लगानी रहेको थियो। लामो समय पानी बोक्न समय खर्चिनुपर्ने बाध्यतामा रहेको त्यस क्षेत्रका समुदायहरु यतिबेला घरघर पानी आएपछी खुशी भएका छन ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले सिंगो पालिका भित्र खानेपानी समस्या समाधान गर्दै एक घर एक धारा पुराउने बताएका थिए भने निर्देशक ढकालले आयोजनाको दिगोपना, थप उर्जा मार्फत आयआर्जनका माध्यम संग जोड्न स्थानीयले गरेको आग्रहलाई आफुले सकारात्मक रुपमा लिएको बताउनु भयो।
कार्यक्रममा रिन्युएवल वर्ल्डका राष्ट्रिय निर्देशक ठाकुर थापा, नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसाल, युनिका फाउन्डेसनका नेपाल प्रतिनिधि रमेश पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा नं २ का अध्यक्ष बिष्णु गौतम, जनप्रतिनिधि, सामाजिक व्यक्तिहरु, उपभोक्ता समिती, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
आयोजनाबाट उक्त क्षेत्रमा बिधालय, स्वास्थ्य चौकी, आमा समूह लगायत १ सय ४० घरधुरी लाभान्वित भएका छन ।