२४ आश्विन २०८१, बिहीबार
वडा तहसम्म पुगेर नागरिकका गुनासा सुन्दै गुल्मीदरबार
जनार्दन घिमिरे
गुल्मी, माघ २२ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत वडा तहसम्म पुगेर नागरिकका गुनासा संकलन गरेको छ । उक्त पालिकाले सोमबार वडा नं ४ अन्र्तगत रुन्खा दहमा आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिक अबधिमा भएका गतिबिधिहरुको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नागरिकका गुनासाहरु संकलन गरेको हो ।
गाउँपालिकाले कार्यालयवाट प्रदान भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा वडा तहमै पुगेर प्रत्यक्ष रुपमा अन्र्तक्रिया मार्फत जानकारी लिने र सेवाग्राहीले उठाएका सार्वजनिक सरोकारका विषयमा तत्कालै जवाफ दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मुख्य जवाफदेही वक्ताको रुपमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रशुख प्रशासकीय अधिकृत राजिव पन्थी लगायत वडाध्यक्षहरुले सेवाग्राहीहरुले उठाएका विभिन्न प्रश्न र जिज्ञासाहरुमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले पालिकाले आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिक अबधिमा भए गरेका र सञ्चालित योजना र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहको सम्बन्धमा सेवाग्राहीहरुलाई जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले नागरिकलाई कसरी छिटो र छरितो ढंगबाट सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा आफुहरुले नागरिकको भावना अनुसार काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा एक दर्जन भन्दा बढी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, कृषि, सडक, विद्युत, पुर्वाधार, खानेपानी, बसाईसराई, बादर आतंक लगायतका विषयमा तीन दर्जन भन्दा बढी प्रश्न र जिज्ञासा राखेका थिए । गाउँपालिकाले यसरी वडा तहसम्म पुगेर नागरिकको गुनासा सुन्ने काम अत्यन्तै प्रभावकारी भएको भन्दै आउँदा दिनहरुमा पनि यस्ता प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन ।