गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा

admin

२०८० चैत्र २२ गते, बिहीबार १९:१७ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, चैत २२ । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । मैत्री यातायात प्रालिले जिल्लामा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याई नागरिकलाई सेबा प्रबाह गर्न शुरु गरेको हो ।

नागरिकलाई सस्तो र सुबिधायुक्त यात्राका लागि सहयोग पुराउने उद्देश्यले मैत्री यातायात प्रालिले दश वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिनु भयो । आजदेखि (बिहिबार) नियमित रुपमा सञ्चालनमा आएको उक्त गाडी सदरमुकाम तम्घासदेखि पाल्पाहुँदै बुटवलसम्म सञ्चालनमा आएको हो ।

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनमा यात्रा गरिरहेका सेवाग्राहीका लागि जिल्लामा अबदेखि विद्युतीय गाडीको थप सेवा लिने अवशर पाउने भएका छन । डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको भाडादर भन्दा विद्युतीय गाडीको भाडा कम हुने हुँदा यात्रुहरुलाई पनि धेरै राहत पुग्ने मैत्री यातायातका सञ्चालक काशि पाण्डेले बताउनु भयो ।

१३ सिट क्षमता रहेको विद्युतीय गाडीको सदरमुकाम तम्घासदेखि बुटवलसम्मको भाडादर ५ सय ६५ रुपैंया कायम गरिएको छ । गाडीमा यात्रुहरुका लागि फ्री वाइफाईको सुबिधा छ । त्यसैगरि यात्रुको सुरक्षालाई मध्यनगर गर्दै गाडीमा सीसी क्यामेरा र जीपीएस समेत जडान गरिएको मैत्री यातयात प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले बताउनु भयो ।

विद्युतीय गाडीहरु नियमित रुपमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म बुटवलका लागि छुट्ने बताईएको छ । गाडीको चार्ज गर्नका लागि सदरमुकाममा चार्जिङ्ग स्टेसन निर्माण गरिएको छ । विद्युतीय गाडी सञ्चालन भएपछि गुल्मी र अर्घाखाँचीका यात्रुहरुलाई थप सेवा पुग्ने बताईएको छ । प्रालीले जिल्लामा झण्डै एक महिनाको परीक्षणपछि विद्युतीय गाडी सञ्चालनमा ल्याइएको हो ।