नहरको पानी खेतमा पुगेपछि किसान हर्षित

admin

२०८१ बैशाख २ गते, आईतवार १४:०७ मा प्रकाशित

गुल्मी, १ बैशाख । नहरको पानी खेतको बिच भागबाट आफ्नै रफ्तारमा सलल बगिरहेको छ । किसानहरूले पनि बाँझिएका खेतका गराहरूलाई निकै मेहनत गरेर राम्रोसँग खनजोत गरी मकै रोपेका छन । पुतली जस्तै भरर गरेर एक नासले मकैले भुइँ छोडिसकेका छन । किसानहरू पनि त्यही खेतमा उम्रेका मकै देखेर यतिबेला आफैमा दङ्ग छन ।

 

यो दृश्य हो, गुल्मीको चन्द्रकोट गाउँपालिका–८ स्थीत तुराङ् गेखुङ् फाँटको । खेतखेतमा नहरको पानी पुगेपछि गेखुङ् फाँट यतिबेला हराभरा भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको आयोजनामा हुग्दीखोला–तुराङ सिँचाइ योजना अन्तर्गत पक्की नहर निर्माण सम्पन्न भएपछि वर्षौदेखि बाँझिएका खेतहरू सिँचित भएका हुन । सिँचाइ विकास डिभिजन कार्यालयले तीन करोडको बोलपत्र आव्हन गरेकोमा बाबुल पन्थ जेभीले एक करोड ९० लाखमा उक्त योजनाको ठेक्का सम्झौता गरेको थियो ।

काम सम्पन्न गर्ने म्याद भन्दा एक महिना अगावै निर्माण व्यवसायीले योजनाको काम सम्पन्न गरेपछि त्यहाँका किसानहरूले समयमै खेती लगाउन पाएका छन । त्यस क्षेत्रका किसानहरूका खेतहरू पक्की नहर बन्नु भन्दा अघि धेरै बाँझा थिए । सिँचाईको अभावका कारण बाँझिएका धेरै खेतहरूमा नहरको पानी पुगेपछि किसानहरू यतिबेला निकै खुसि र उत्साहित बनेको हुग्दीखोला–तुराङ सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष लोकनाथ पोख्रेलले बताए ।

निर्माण व्यवसायीले समय अगाबै योजनाको काम सम्पन्न गरेर हस्तान्तरण गरे पनि आफूले पुरा भुक्तानी पाउन नसकेको निर्माण व्यवसायी गगन केसीले गुनासो गरे । लुम्बिनी प्रदेश सरकारको सामान्यकरण स्रोत अन्तर्गत उक्त योजनाका लागि बजेट विनियोजन गरिएको हो । आवश्यकता भन्दा न्यून बजेट भएको र थप बजेट निकासा हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिनियर भरतप्रसाद सापकोटाले बताए । उनले थप बजेटका लागि मन्त्रालयमा आवश्यक पहल गरिएको जानकारी दिएका छन ।

हुग्दीखोला–तुराङ सिँचाइ योजना अन्तर्गत निर्माण गरिएको मुल नहरको कुल लम्बाई ४६ सय मिटर रहेको छ । नहरबाट अहिले ८५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाई पुगेको छ । फाँटफाँटमा पुगेको सिँचाईले त्यस क्षेत्रका एक सय ४४ घरधुरीका ११ सय ७९ जना मानिसहरू प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए ।

सिँचाईको अभावमा त्यत्तिकै अलपत्र परेका उत्पादनशील फाँटहरूमा सिँचाइको सुबिधा पुगेपछि त्यतिबेला गोखुङ् र तुराङबासीहरूलाई ठूलो राहत मिलेको स्थानीय उपभोक्ता भुवन बस्नेतले बताएका छन । पहाडी जिल्ला भएपनि गुल्मीका हजारौं हेक्टर उत्पादनशील फाँटहरूमा अझै पनि सिँचाइ सुबिधा पुग्न सकेको छैन । पछिल्लो समयमा सरकारले सिंचाइको क्षेत्रमा धेरै लगानी गरे पनि नागरिकहरूले भने सरकारले गरिदिएको लगानी अनुसारको प्रतिफल दिन भने अझै सकिरहेका छैनन ।