२७ माघ २०८१, आईतवार
विवाहको आवरणमा चीनमा नेपाली युवतीहरूको तस्करी, चर्को श्रम शोषणदेखि वेश्यावृत्तिका कहालीलाग्दो श्रृंखला

मानव तस्करीमा संलग्न चिनियाँ गिरोहले गरिबी तथा कमजोर आर्थिक अवस्थामा रहेका समूहका नेपाली महिला तथा युवतीहरूलाई स्थानीय दलालमार्फत् चीन लैजाने गरेका छन् । सुरूमा विवाह र सुन्दर भविष्यको झुटो आश्वासन दिने र चीन पुगेपछि मानसिक, शारीरिक तथा यौन शोषण समेत गर्दै आएको पाइएको छ।
शिरोमणि ढुङ्गाना/रामकुमार शाही
काठमाडौं । विवाहको आवरणमा चीनमा नेपाली महिला र युवतीको तस्करी गर्ने र चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेको पाइएको छ । यसका लागि चिनियाँ गिरोह र नेपाली दलालहरूले साँठगाँठ गर्ने गरेको समेत खुलेको छ ।
नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरूषसँग विवाहको प्रलोभनमा पारेर यस्तो बेचबिखन हुने गरेका थुप्रै घटनाहरू द डिएमएन न्यूजले फेला पारेको छ । यस्ता घटनाहरूमा सुरूमा धनी चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाउने र विवाहपश्चात चीन पुर्याएपछि चिनियाँ पुरूषबाट नेपाली युवतीहरू मानसिक, शारीरिक र यौन शोषणमा पर्ने गरेको पाइएको छ ।
यसले नेपाली महिला र युवतीहरूको पीडाका साथै उनीहरूलाई चीनमा कसरी यौन शोषण गर्न बाध्य पारिएको छ भन्ने कुरालाई उजागर गरेको छ।
***
निम्न मध्यम वर्गीय परिवारमा हुर्किएकी सम्झनाले उच्च शिक्षा सकेपछि ठमेलको एउटा क्याफेमा काम सुरू गरिन् । कामकै क्रममा चिनजानको व्यक्तिले उनलाई चिनियाँ नागरिकसँग विवाहको प्रस्ताव ल्याए । सुरूमा उनले अस्वीकार गरिन्।
तर, लगातार लोभ देखाएपछि भने उनमा विस्तारै सुखी जीवनको आश पलाउन थाल्यो । राम्रो आर्थिक अवस्था हासिल गरेर सुखी जीवन बिताउने सपना देखेकी सम्झनाले चिनियाँ नागरिक बनेपछि जीवन चलाउन सहज हुने कुराले उनलाई लोभ्यायो । बिहे गरेको पाँच वर्षपछि चीनमा स्थायी बसेबास अनुमति पाउने समेत भनिएको थियो ।
विलासी जीवनको आशामा उत्साहित सम्झनाले चिनियाँ नागरिक र उनको परिवारलाई ठमेलको एउटा रेस्टुरेन्टमा भेटिन् । उनलाई चीन जान चिनियाँ नागरिकसँग विवाह दर्ता गराउनु पर्ने बताइयो । यही सल्लाह अनुसार उनीहरूले सन् २०२३ मार्च २७ मा विवाह दर्ता गराए ।
त्यसपछि नवविवाहित जोडी सन् २०२३ अप्रिल १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडे । उनलाई उनको श्रीमानले दक्षिणी चिनियाँ सहर जिंगताई लगे । सुरूमा उनीहरूबिचको सम्बन्ध राम्रो थियो । तर, दश-बाह्र दिनपछि श्रीमानले उनको इच्छा विपरीत धेरै पटक यौन सम्पर्क गर्न बाध्य पारे । उनी भन्छिन्– “यौन उत्तेजक चक्की खाएर दिनमा ५–६ पटकसम्म यौन सम्पर्क गर्थे ।”
उनले यस्तो पीडादायी गतिविधिको विरोध गर्दा झन् अवस्था बिग्रियो। उनले विवाह गरेको चिनियाँ पुरूषले सम्झनालाई वेश्यावृत्तिमा लगाए । उनले भनिन् “मैले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिएँ । तर, दुर्भाग्यवश म मरिनँ ।”
सम्झनाले पछि मात्र थापा पाइन् कि, उनलाई ५ लाखमा वेश्यावृत्तिको लागि चिनियाँ नागरिकले किनेका रहेछन् । यो कुरा थाहा पाएपछि उनले कुनै माध्यममार्फत् बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सफल भइन् । त्यसपछि उनलाई चीनबाट उद्धार गरिएको थियो । नेपाल फर्किएपछि उनले आफूलाई चीन लैजाने समूहविरुद्ध प्रहरीमा उजुरी दिइन् ।
***
सन् २०१९ मा पार्वती वैदेशिक रोजगारीमा जाने योजनामा थिइन् । उनले चिनेजानेकी आशा तामाङकी भाइलाई भेटिन् । पार्वतीलाई भेटेको केटाले आफ्नी बहिनीले चिनियाँ नागरिकसँग विवाह गरेर राम्रो र सुखी जीवन बिताइरहेको बताए । साथै उनले पार्वतीलाई सिन्धुपाल्चोककी चिनियाँ श्रीमान् भएकी महिलासँग पनि भेटघाट गराउने आश्वासन दिए । त्यसको केही समयपछि उनलाई बालाजुको माछा पोखरीमा बिबिरानी तामाङसँग भेटघाट गराए । उनलाई स्थानीय एजेन्ट बिबिरानी तामाङले प्रलोभनमा पारेकी थिइन् ।
चिनियाँ नागरिक ठमेलमा बसेको बिबिरानीले पार्वतीलाई बताइन् । उनले यदि उसले तिमीलाई मन परायो भने तिमीसँग विवाह गरेर लैजान्छ भनिन्। धेरै पैसा कमाउन सकिने पनि बताइन् । कुराकानीपछि पार्वतीलाई ठमेलको एउटा होटेलमा लगेर चिनियाँ नागरिकसँग भेट गराइयो । त्यसको केही दिनमा उनीहरूले सबै कागजातसहित आवश्यक प्रक्रिया पूरा गरे । पार्वतीको भिजिट भिसा लाग्यो ।
उनीहरू सन् २०१९ जुलाई १३ मा भिजिट भिसामा चीनको शानडोङ गएका थिए । उनीहरूसँगै लमजुङका दुई महिला पनि चीन गएका थिए । उनको भिसा एक महिनाको मात्रै भएकाले पार्वती १५ दिनको चीन बसाइँपछि नेपाल फर्किइन् ।
उनलाई चीन पठाउने गिरोहकै सल्लाहमा उनले फेरि भिसा लगाइन् । उनलाई सन् २०१९ अगस्ट २८ मा छ महिनाका लागि भिसा थपियो। त्यसपछि उनी फेरि चीन गइन् र नेपालमा भेटेको चिनियाँ नागरिकको घरमा बस्न थालिन् ।
यसपटक उनीमाथि राम्रो व्यवहार भएन । चिनियाँ नागरिकले उनीमाथि शारीरिक र मानसिक दुर्व्यवहार गर्न थाले । शारीरिक दुर्व्यवहारका साथै उचित खानपिनबिना राति अबेरसम्म काम गर्न बाध्य भइन् । उनी बिरामी भइन् । पछि मात्र चिनियाँ नागरिकले उनलाई नेपाली एजेन्टले १७ लाख ५० हजारमा बेचेको बतायो । दिनानुदिनको चिनियाँको निर्मम व्यवहारपछि उनी आजित भइन् । एकदिन उनी चीनमै बस्ने अर्की नेपाली महिलाको सम्पर्कमा पुगिन् । ती महिलाको सहयोगमा त्यो घरबाट भाग्न सफल भइन् । सन् २०१९ सेप्टेम्बर २६ मा अप्रिय र डरलाग्दो अनुभवसहि उनी नेपाल फर्किन् ।
***
घरपरिवारमा आर्थिक तनावको सामना गरिरहेकी रोशना करिब पाँच वर्षअघि थाङ्का चित्र बनाउन ललितपुरको च्यासलस्थित एक कारखाना पुगिन् । त्यहाँ उनको भेट चिनियाँ पर्यटकका लागि गाइड र अनुवादकको काम गर्ने किरण तामाङसँग भयो । चिनजानपछि उनीहरू सामाजिक सञ्जाल फेसबुकमा जोडिए । फेसबुकमा जोडिएपछि किरणले रोशनालाई चीनमा धेरै कमाउन सक्ने र चीन जाने भए सबै प्रबन्ध मिलाउन सक्ने प्रस्ताव राखे । सुरूमा रोशनाले किरणको प्रस्तावलाई गम्भीरतापूर्वक लिइन् । उक्त प्रस्ताव अस्वीकार गरिन् । किरणले रोशनालाई एकपटक त्यहाँ गएर हेरेर आऊ, त्यहाँपनि व्यापार व्यवसाय गर्न सकिन्छ भनेर आश्वासन देखाए । चीन लैजाने सबै खर्च आफूले गरिदिने सर्तसहित व्यापारका लागि चीन जाने कुरा मनाउन सफल भए ।
सन् २०२० जनवरी १० मा रोशना किरणसँग चीन उडिन् । चीन पुगेपछि उनीहरूको भेट किरणको साथी एक चिनियाँ नागरिकसँग भयो । त्यसले उनलाई शानडोङ प्रान्तको हेजे सहरमा लिएर गयो । सुरूमा रोशनाप्रति राम्रो व्यवहार गरियो तर केही दिनपछि चिनियाँ व्यक्तिले उनलाई कोठामा बन्धक बनाएर पिट्न थाल्यो । रोशनाले किरणसँग मद्दत मागिन् तर किरणले उनलाई फेसबुकमा ब्लक गरिदिए । र, उनलाई ८० हजार रूपैयाँमा बेचेको खुलासा गरे ।
दिनानुदिन उनको अवस्था बिग्रिँदै गयो । उनलाई नियमित मोबाइल चलाउन समेत दिइएन ।
उनको अवस्था बिग्रियो तर उनले माया मगरलाई टिकटकमा सम्पर्क गरिन् र मायाले बेइजिङस्थित नेपाली दूतावासलाई सो कुराको जानकारी गराइन् । सान्डोङ प्रहरीसँगको समन्वयमा घरमा छापा मारेर दुर्व्यवहार रोकियो । तीन महिना बाहिर काम गर्न अनुमति पाए पनि रोशनाको कमाइ र कागजात चिनियाँ परिवारले जफत गरेको थियो ।
नेपाली दूतावास र शानडोङ प्रहरीको सहयोगमा उनको भिसाको म्याद थप भयो र सन् २०२० को अक्टोबरमा उनीलाई सकुशल नेपाल फर्काइएको थियो ।
***
निम्न आर्थिक वर्गको परिवारमा जन्मेकी टीकामाया एसएलसी सकेर कामदार भिसामा ओमान गएकी थिइन् । मध्यपूर्वमा रहँदा आफ्नी आफन्त सरिता तामाङमार्फत सुन्दरी राईसँग फेसबुक जोडिन पुगिन् ।
सुन्दरी राईले टीकामायालाई आफू विगत दश वर्षदेखि चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा खुसीसाथ बस्दै आएको कुरा बताइन् । चीनमा सुख सयल रहेको बताइन् । यदि चिनियाँ नागरिकसँग बिहे गर्ने हो भने आफूले सहयोग गरदिने बताइन् ।
सम्पन्न जीवनको प्रलोभनमा लोभिएकी टीकामाया सन् २०२३ नोभेम्बर १० मा ओमानबाट काठमाडौँ फर्किन् । सुन्दरी राईमार्फत् टीकामायाले चिनियाँ नागरिकसँग भेट गरिन् । उनले विवाह गर्नु अगाडि आफ्नो परिवारलाई सबै कुरा जानकारी गराउनुपर्ने भनिन् । तर, चिनियाँ पक्ष र सुन्दरी राईले चिनियाँ पुरूषसँग बिहे गर्न उनको परिवारले नदिने बताउँदै अहिले नै परिवारलाई खबर नगर्न भन्यो ।
सबै प्रक्रिया पूरा भएपछि टीकामाया चीनमा बिहे गर्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग चीन उडिन् । उनलाई चीनको हार्बिनमा लगियो, जहाँ उनीहरूले विवाह पनि गरे ।
एक हप्तापछि चिनियाँ युवकले उनीमाथि बलात्कार गर्न थाले । त्यसपछि मात्र उनले आफू १ लाख ५० हजार रूपैयाँमा बेचिएको थाहा पाइन् । त्यसक्रममा टिकटकमा भेटेका एक नेपालीको सहयोगमा उनी सन् २०२३ जुन २३ मा चीनबाट भाग्न सफल भइन् ।
***
माथि उल्लेख गरिएका चार वटै घटनामा पीडितहरूलाई बेचबिखनमा फसाउन एउटै तरिका प्रयोग गरिएको देखिन्छ । नेपालका चीनसँग सीमा जोडिएका जिल्लाहरूका ग्रामीण पहाडी क्षेत्रका न्यून आय भएका परिवारका कमजोर महिला र केटीहरूलाई लक्षित गरेर दलालहरूले यस्तो धन्दा चलाएको पाइएको छ । चिनियाँ नागरिकसँग विवाह गर्ने सर्तमा नेपाली दलालहरूले चीनमा आकर्षक रोजगारी र राम्रो जीवनको प्रस्ताव गर्ने गरेको खुल्न आएको छ । स्थानीय अधिकारीहरूलाई घूस दिएर नेपाली दलालहरूले चाहिने कागजातहरू तयार पार्ने र त्यसपछि नेपाली महिलाहरूलाई चीन लगेर चिनियाँ नागरिकहरूलाई सुम्पने गरेको माथिको घटनाले देखाएको छ ।
राम्रो जागिर, राम्रो जीवनको आश्वासन, विवाहको प्रस्ताव, सम्पन्न जीवनस्तरको सपना जस्ता प्रलोभनमा पारेर दलालहरूले परिवारका सदस्यहरू र महिलाहरूलाई विश्वास दिलाउन सफल हुन्छन् । यौन हिंसा र बेश्यावृत्तिको दलदलमा फसेपछि मात्र पीडितहरूले यी वाचा र आश्वासनहरू झूटो रहेछन् भनेर थाहा पाउँछन् ।
पीडितहरूले चीन पुगेपछि मात्र आफूलाई के भयो भन्ने बुझ्छन् । तर त्यतिन्जेल ढिलो भइसकेको हुन्छ । बेइजिङमा नेपाली अधिकारीहरूसँग भेट र पहुँच नपाउने भएकाले उनीहरू केही गर्न सक्ने अवस्थामा हुँदैनन् ।
नेपाल प्रहरीले एकपछि अर्को गर्दै तस्करी र्याकेटको पर्दाफास गर्न त सफल हुन्छन् तर पक्राउ पर्नेहरू प्रायः नेपाली दलाल मात्र नै हुन्छन् । अपराधमा संलग्न चिनियाँ नागरिकसम्म प्रहरी पुग्न सक्दैन । अनुसन्धानमा संलग्न प्रहरीहरूले चिनियाँ पक्षलाई कारबाही गर्न नसकेको यो पहिलो घटना भने होइन ।
उदाहरणका लागि सन् २०१५ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चीन र कोरिया विवाह र्याकेटको पर्दाफास गर्यो, जुन त्यस समयको सबैभन्दा ठूलो तस्करी योजनाहरूमध्ये एक हो । सुरूमा नेपाल प्रहरीले अपराधको गम्भीरताबारे अनुसन्धान गर्ने बताएपनि संलग्न चिनियाँ नागरिकहरूलाई पत्ता लगाउन भने सकेन ।
चिनियाँ पक्षबाट समन्वय र सहयोगको अभावका साथै अपराध अन्तर्राष्ट्रिय र सङ्गठित प्रकृतिको भएकोले अपराधीलाई पक्राउ गर्न कठिन भएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीका पूर्वनायबमहानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले भन्छन्– “पीडितले नेपालको सीमा पार गरेपछि उनीहरूको खोजी गर्न र न्याय दिन गाह्रो हुन्छ ।”
यसका साथै यस्ता विषयमा चिनियाँ पक्षसँग समन्वय, सहयोग र सञ्चारको अभाव रहेको पूर्वडीआईजी ठकुरी बताउँछन् । उनका अनुसार चिनियाँ पक्षले नेपाली अनुसन्धान अधिकारीलाई जति सहयोग गर्नुपर्ने हो त्यति सहयोग कहिले पनि गर्दैन ।
नेपाल प्रहरीले २०१५ मा काठमाडौँमा विवाह ब्युरो चलाउने र युवायुवतीहरूलाई कोरियाली र चिनियाँ पुरूषसँग विवाह गराउने गिरोहको पर्दाफास गर्दा ठकुरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक थिए । त्यो घटनाको अनुसन्धान प्रक्रियामा नेपाल प्रहरीले पर्याप्त साथ र सहयोग नपाएको ठकुरीले स्मरण गराए ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार हालसम्म नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारेर वेश्यावृत्तिमा बेच्ने ६ वटा मुद्दा ब्युरोमा दर्ता भएका छन् । यीमध्ये चार वटा चिनियाँ नागरिक संलग्न रहेको मुद्दा छन् ।
एसपी मिश्रका भन्छन्– “समुदाय र परिवारको असहयोग र डरका कारणले पीडितहरू प्रहरीकहाँ आउँदैनन् । धेरैजसो पीडकहरू आफ्नै नातेदार वा नजिकका आफन्त हुन्छन् । प्रहरीमा मुद्दा दर्ता पछि पनि कतिपय पीडितहरूले आर्थिक प्रलोभनमा परेर उजुरी फिर्ता लिने र अदालतमा बयान फेर्ने गरेका छन् ।”
नुवाकोटका एक स्थानीयका अनुसार गत वर्ष नुवाकोटको दुर्गम गाउँकी एक महिला एक वर्षभन्दा बढी बेपत्ता भइन् । यस वर्षको फेब्रुअरीमा उनी दुई चिनियाँ नागरिकसँग गाउँमा फेरि देखा परिन् । एक चिनियाँ पुरूषसँग आफूले विवाह गरेको र उनीसँगै आएका अर्का चिनियाँ नागरिक उनका आफन्त भएको गाउँलेहरूलाई जानकारी गराइन् ।
केही दिनपछि उनी आफ्ना आफन्त र छिमेकीहरूलाई नगद र राम्रो जीवनको लागि चिनियाँ पुरूषहरूसँग आफ्ना छोरीहरूलाई विवाह गर्न मनाउँदै गरेको भेटियो । उनीहरूको यो योजनाबारे प्रहरीले सूचना पाएको थियो । तर, प्रहरी पुग्नु भन्दा पहिले नै उनीहरू गाउँबाट भागिसकेका थिए ।
चिनियाँ तस्करी गिरोहले स्थानीयस्तरमा कसरी काम गर्छ भन्ने कुराको यो एउटा उदाहरण मात्र हो । तिनीहरूले समुदायभित्र अनौपचारिक बिचौलियाहरू भर्ती गर्छन् । यी मध्यस्थकर्ताहरू प्रायः समुदायद्वारा चिनिएका र विश्वास गर्ने व्यक्तिहरू हुन्छन् । जस्तै; आफन्तहरू, छिमेकीहरू, साथीहरू, समुदायका नेताहरू, वा प्रभावशाली व्यक्तित्वहरू ।
पछिल्लो समय स्थानीयलाई समृद्ध जीवन देखाएर लोभ्याउन चिनियाँ पुरूषसँग विवाह गरिसकेका वा विवाह गरेको देखाउने महिलालाई पनि यस गिरोहले परिचालन गर्न थालेको छ ।
स्थानीयका अनुसार विपन्न गाउँलेहरूलाई लोभ्याउन स्थानीय तहमा प्रशस्त नगदसहित राम्रा लुगा लगाएका महिलाहरूलाई गिरोहले परिचालन गर्न थालिसकेको छ ।
अमेरिकी सरकारको २०२३ को मानव बेचबिखनको प्रतिवेदनले चीनमा केही जबरजस्ती विवाहका घटनाहरू उल्लेख गरेको छ । जसमध्ये धेरै घटनाहरूको सुरूआत विकट गाउँबाट भएको र यी घटनाहरूमा बेश्यावृत्ति र जबरजस्ती श्रम रहेको उल्लेख छ । यसमा हुने कारबाहीहरू विरलै पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्ने र दोषी फैसलामा परिणत हुन्छन् ।
ब्युरोमा दर्ता भएका मुद्दामध्ये एउटा घटनामा संलग्न दुई जनालाई काठमाडौं जिल्ला अदालतले सात वर्ष ६ महिना र चार वर्ष ६ महिना कैद सुनाएको छ भने अर्को घटनाको एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा छन् । बाँकी मुद्दामा धरौटीमा रिहा भएको देखिन्छ ।
चीन र दक्षिण कोरियामा नेपाली कम्पनीमार्फत पुरूषसँग विवाह गर्न राजी हुने केही नेपाली महिलालाई घरेलु दासत्वमा बाध्य पारिएको सन् २०२२ को मानव बेचबिखन प्रतिवेदनले जनाएको छ ।
(पीडितहरूको सुरक्षा र उनीहरूको पहिचानको सुरक्षाका लागि सबै नामहरू परिवर्तन गरिएको छ । – डेमोक्रेसी मिडिया नेटवर्क )
यो समाचार शुरुमा The DMN News प्रकाशित भएको हो।