भुवने पार्क स्थीत सीताराम मन्दिरमा राम कथा महायज्ञ शुरु

admin

२०८१ बैशाख ५ गते, बुधबार २०:२३ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, ५ वैशाख । गुल्मीको रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाको संगम स्थल भुवानेपार्कमा रहेकोे सीताराम मन्दिरमा आजदेखि राष्ट्र कल्याण महायज्ञ शुरु भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना तथा लोक कल्याणकारी सेवा प्रतिष्ठान एवं राम जानकी बालिका आश्रम देवघाटको सह–आयोजनामा बैशाख ५ गतेदेखि ११ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो ।

महायज्ञमा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले धर्मले मानिसलाई संस्कार युक्त कर्म सिकाउने र त्यही कर्मका आधारमा मानिसमा सकारात्मक विचार जगाउने बताउनु भयो । उहाँले यस्ता प्रकारका धार्मिक अनुष्ठानहरुले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा रेसुंगालाई अयोध्यासम्म जोडन सकिने बताउनु भयो । सोही कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले गुल्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

स्थानीय समाजसेवी सुब्बा बस्नेतले निजी लगानीमा एक करोड भन्दा बढी रकम खर्चिएर भुवने पार्कमा सिताराम मन्दिरको निर्माण गर्नु भएको हो । सोही मन्दिरमा बस्नेतले व्यक्तिगत खर्चमा महायज्ञ गर्न थाल्नु भएको हो । महायज्ञमा सात दिनसम्म रामकथा वाचन, आरती, भजन, अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकीरुको समेत प्रस्तुती रहेकोे छ ।

यज्ञ अबधि भर आर्थिक अभावका कारण उमेर पुगेर पनि चौरासी पूजा गर्न नसकेका विपन्न परिवारलाई महायज्ञका बटुकद्वारा निःशुल्क रुपमा दैनिक पूजा गरिदिने व्यवस्था गरिएको छ । बुधबारदेखि (आज) शुरु भएको महायज्ञमा नेपालकै कम उमेरकी भागवत वाचिका सुश्री उमामहेश्वरीले कथा प्रवचन गर्नु भएको छ । यज्ञको पहिलो दिन कलश यात्रा सहित विधिवत रुपमा यज्ञको शुभारम्भ गरिएको थियो