इस्मा अग्नि पीडितलाई सहयोग आउने क्रम जारी

admin

२०८१ बैशाख १६ गते, आईतवार १८:२५ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, वैशाख १६ । गुल्मीको इस्मा गाउॅपालिकाका अग्नी पीडीतलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेशन काठमाडौंको तर्फबाट खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।यही वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो ।

फाउण्डेशनबाट दैनिक उपभोग्यका चामल, दाल, नुन तेल लगायतका सामग्रि इस्माका ३६ जना अग्नी पीडितहरुलाई प्रदान गरिएको हो । फाउण्डेशनका संरक्षक मानबहादुर श्रेष्ठ दम्पतिले अग्नी प्रभावित क्षेत्रमा पुगेर सामग्रि हस्तान्तरण गर्नु भएको हो ।

प्राकृतिक विपत्तिले निम्त्याएको ठूलो विपत्तिमा सानो सहयोग भए पनि  पुगोस भनेर खाद्यान्न सहयोग गरेको फाउण्डेसनका संरक्षक मानबहादुर श्रेष्ठले बताउनु भयो। गुल्मी जिल्ला सदरमुकाम तम्घास निवासी मानबहादुर श्रेष्ठले आफु र श्रीमतीको नामबाट फाउण्डेशन खोलेर विभिन्न विपत्ति तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ।

फउन्डेशनको तर्फबाट जिल्लामा विभिन्न समयमा बृहत निःशुल्क स्वास्थ्य शिबिर समेत आयोजना गरिदै आएको छ। त्यस्तै प्राकृतिक विपत्ति, आगोलागी तथा बाढी पहिरोबाट प्रभावित नागरिकहरुलाई पनि सहयोग पुराउॅदै आएको छ ।

फाउन्डेशनबाट अग्नी पीडित परिबारलाई आवश्यकताको आधारमा खाद्यान्न सहयोग गरिएको मानबहादुर एण्ड मायादेवी फाउण्डेशनका सदस्य जनक पन्थले बताउनु भयो ।  गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी, टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा गरि आगोलागीबाट २६ वटा घर र ४९ गोठ जलेर नष्ट हुनुका साथै ५६ वटा पशुचौपाय जलेर मरेका छन ।

आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जना घाइते भएका थिए।

इस्मा गाउँपालिका अध्यक्ष भगतसिङ खड्काले गाउँपालिकाले तिव्र रूपमा राहत बितरणको काम भैरहेको बताउनु भएको छ । पालिकाले खानेपानी, जीवनजल पानीको व्यवस्था, बास, खाद्यान्न, पशुचौपायलाई घाँसको व्यवस्था, खानेपानीका लागि पाइपको काम, विद्युतको काम र विद्यार्थीको पोशाक लगायत प्रभावित परिबारका लागि कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएको बताउनु भयो ।

घर निर्माणका लागि पालिकाबाट तत्काल प्रतिघर एक लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।  अहिले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सहयोगी स्वयंसेवक बनेर घर पुनःनिर्माणका लागि भग्नावशेष भएका संरचनाहरु हटाउने कार्य भइरहेको छ । पालिका भित्र आगोलागीबाट १ सय ९९ जना नागरिक प्रभावित भएका छन् ।

घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिक छिमेकीको घरमा आश्रय लिएका छन् । बस्तीमा आगलागी हुँदा इस्मामा ठूलो क्षति पुगेको छ ।

अग्नी पिडीतहरुका लागि विभिन्न संघ संस्थाले राहत सामग्रि प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडीतहरुका लागि सामग्रि पुर्याउने काम गरेका छन् ।