३ चैत्र २०८१, सोमबार
जनताका समस्या सुन्न वडातहमा पुगेर दरबारले गर्यो सार्वजनिक सुनुवाई

गुल्मी, १२ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष अन्र्तक्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को दोश्रो चौमासिक अबधिको प्रगति समीक्षासँगै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले पालिकाले दोश्रो चौमासिक अबधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च बिबरणको बारेमा सेवाग्राहीलाई जानकारी गराउनु भएको थियो । उहाँले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा अनुसार गाउँपालिकामा ६० घरपरिवारका २ सय १३ जना मानिसहरु बसाइँसराई गरी गएको देखिएको छ ।
कार्यक्रममा सोही विषयलाई लिएर त्यहाँका स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले पनि गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बसाईसराई न्यूनिकरण गर्नु पर्नेमा जोड दिँदै पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने प्रचलन समाजमा सामाजिक विकृतिका रुपमा बढ्दै गएको भन्दै यस तर्फ गम्भिर बन्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सूर्य कुँवर मगर, राम बहादुर पुन, अमर बहादुर राकस्कोटि, सुर्य बहादुर सिंजाली, कृष्ण गौतम, टेकबहादुर खत्री, लेखेन्द्र पुन,अमर राकसकोटी थम्मन बस्नेत, पार्वती बलाल लगायतका व्यक्तिहरुले बसाइँसराइ, स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधी तथा स्वास्थ्य बीमाका, शिक्षक दरबन्दी मिलान, योजना सम्झौता एवं भुक्तानि प्रक्रिया, व्यवसायीक कर, कृषि, पशु, सडक, वडातहमा सूचनाको पहुँच, बन्यजन्तुले पुराएको क्षती लगायतका विषयमा विषयमा जिज्ञासा राख्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको स्थानीयहरुको जिज्ञासाहरु मेटाउँदै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सबल, सक्षम, संमृद्ध पालिका निर्माणका लागि गाउँपालिकाका सबै क्षेत्रबाट आफुलाई सकरात्मक सहयोग प्राप्त भइरहेको बताउनुभयो । उहाँले अहिलेको वर्तमान जनप्रतिनिधि र कर्मचारीको टिम सकरात्मक सोंचका साथ समृद्धि पालिका बनाउने उदेश्यका साथ लागि परेको बताउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष तारा थापा ढेंगाले गाउँपालिकाले अनुगमनको कार्यलाई चुस्त बनाएको र न्यायिक समितिमा पर्ने उजुरीहरुलाई समयमै फस्र्छौट गर्ने गरिएको बताउनु भयो । उहाँले घरेलु हिंसा लगायतका घटनाहरु भए पालिकाको न्यायिक समितिमा जानकारी गराउन पनि आग्रह गर्नु भएको थियो ।
सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले योजना सम्झौता लगायतका कार्यहरुलाई सहज र सरल बनाउन विभिन्न समयमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने गरिएको बताउँनु भयो । साथै उहाँले यस चालु आर्थिक वर्षको हालसम्म २ सय ४३ योजना सम्झौता गरिएकोमा १ सय ६५ वटा योजनाहरु सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आधा दर्जन भन्दा बढी स्थानीयबासीले तीन दर्जन भन्दा धेरै समस्या र गुनासाहरु राख्नु भएको थियो । पालिकाले वडातहमा पुगेर यसरी नागरिकका गुनासा सुनिदिएको भन्दै स्थानीयहरु खुसि बनेका थिए ।