गुल्मेली समाज जापानद्वारा अग्नी पीडितलाई सात लाख रुपैंया सहयोग प्रदान

admin

२०८१ असार १० गते, आईतवार १३:५१ मा प्रकाशित

गुल्मी, ९ असार । गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्नीपीडितलाई सात लाख रुपैंया आर्थिक सहयोग गरेको छ । गत बैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रति परिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिनु भएको छ ।

आगलागी घटनामा जिल्लामा सवैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८ जना, मदाने गाउँपालिका दश जना, मुसिकोट नगरपालिकाका ८ जना, रुरुक्षेत्र गाउँपालिकाका ७ जना, गुल्मीदरबार गाउँपालिकाका पाँच जना लाई आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी धुर्कोट गाउँपालिकाका पाँच जना, रेसुङ्गा नगरपालिकाका दुइ जना, छत्रकोट गाउँपालिकाका दुइ जना, मालिका गाउँपालिकाका दुइ जना र कालीगण्डकी गाउँपालिकाका एक जना गरि कुल ७० घरपरिवारलाई नगद दश÷दश हजार रुपैंयाका दरले अग्नीपीडितलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

समाजले अग्नीपीडितको सहयोगको लागि जापानमा सहयोग संकलन अभियान संचालन गरेको थियो । संकलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडित समक्ष पुराइएको हो । केहि स्थानमा आफै पुगेर र केहि स्थानमा जनप्रतिनिधी मार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिनु भयो । गुल्मेली समाज जापानले जिल्लाका हरेक बिपदमा सहयोग र सहजीकरण गरिरहेको छ ।

कोभिडको बिषम परिस्थतीमा समेत जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पतालमा १५ लाख बराबरको स्वास्थ्य सामग्री समाजले प्रदान गरेको थियो । सोहि अभियानमा पनि नेपाल पत्रकार महासंघ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो । आफुहरुको शरिर मात्र परदेशमा भएपनि मनमा मातृभूमी रहेकाले संस्था मार्फत लामो समयदेखि जिल्लाबासीलाई सहयोग गर्न पाएकोमा संस्थाका अध्यक्ष महेन्द्र कुमार अधिकारीले खुसी व्यक्त गर्दै सहयोग संकलन गर्ने सहयोगी मन र सहयोग प्रदान गर्न सहजीकरण गर्ने गुल्मेली पत्रकारलाई धन्यवाद दिनु भएको छ ।

गुल्मेली समाज जापानले अग्नीपीडितहरुलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले गुल्मेली समाज जापानको सामाजिक कामको उच्च प्रसंसा गर्नु भयो । आगोले सारा सम्पती जलेर नष्ट भएका परिवारको दुखमा समाजले देखाएको सहानुभूति निकै उदाहरणीय रहेकाले सहयोग र सद्भावको निरन्तरताको आशा व्यक्त गर्नु भयो ।

गुल्मेली समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरुको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।