गुल्मीमा राष्ट्रिय परिचयपत्रमा भिड बढेपछि उद्योग बाणिज्य संघबाट बेञ्च सहयोग

admin

२०८१ असार १० गते, आईतवार १८:१९ मा प्रकाशित

अनिल खत्री

९ असार, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्रहीको सहजताको लागि गुल्मी उद्योग बाणिज्य संघले २ वटा बेञ्च सहयोग गरेको छ । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्याधिक बढेको छ ।

भिडका कारणले ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर सेवा लिनु पर्ने अवस्था रहेको छ । गुल्मी उद्योग बाणिज्य संघको टोलीले २ वटा बेञ्च आइताबार प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई प्रदान गरेको हो ।

काठबाट तयार भएका बेञ्चमा एउटामा १० जनासम्म बस्न मिल्ने गरि तयार गरिएको छ । ज्येष्ठ नागरिकहरुले पाइरहेको कष्टपूर्ण अवस्था देखेपछि गुल्मी उद्योग बाणिज्य संघले २ वटा बेञ्च सहयोग गरेको अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।

प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा पालो कुर्ने स्थलमा बस्ने बेञ्च नहुँदा समस्या रहेको छ । राष्ट्रिय परिचयपत्र बनाउन भन्दै प्रशासन कार्यालय पुगेका जेष्ठ नागरिकहरु चिसो भुइमा बसेर पालो कुर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्रहीको सहजताको लागि गुल्मी उद्योग बाणिज्य संघलाई गरिएको आग्रह स्वारुप २ वटा बेञ्च सहयोग भएकोमा धन्यवाद दिए । उनले पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या अत्यधिक रहेकाले सेवाग्रहीलाई पालो कुर्ने क्रममा चिसो भुइमा बसेर पालो कुर्नुपर्ने बाध्यता रहेको बताए ।

बेञ्च सहयोगले सेवाग्रहीलाई सहज हुने गैरेले बताए । सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको भन्दै भिड परिचयपत्र बनाउने संख्या बृद्धि हुने गरेको छ ।

सामान्य तया ४० जना देखि ६० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केहि दिन यता दोब्बरले संख्या बृद्धि भएको छ । राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि आवेदनका लागि ज्येष्ठ नागरिकहरु लाइनमा बस्ने गरेका छन् ।

सुरुमा सरकारले देशमा अन्य २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दैछ ।पहिलो चरणमा गुल्मी जिल्ला पर्दैन ।

तर सेवाग्रहीको चाप उत्तिकै हुने गरेको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य हुन्छ भन्ने हल्लाले गुल्मीमा पनि बृद्धबृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउन भन्दै हतारिएर प्रशासन कार्यालयमा पुग्ने गरेका छन् ।

एकै पटक सेवाग्रही राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय पुग्दा सेवाग्रही र सेवाप्रवाहमा समेत समस्या हुने गरेको छ । अहिले प्रशासन कार्यालयमा २ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ ।

जसमा सरदर ७० जनासम्मको क्षमता रहेको छ । तर अहिले दोब्बरले संख्या बृद्धि हुँदा सेवा ग्रहीलाई पनि समस्या हुने गरेको छ । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट पछिल्लो एक सातामा ७२७ जनाले राष्ट्रिय परिचयपत्र दिन विवरण दर्ता गराएका छन् ।

यो अवधीमा करिब ३ सय जनाले नागरिकता लिएका छन् । एक सताको आवधीमा २ सय ६ जनाले राहदानी लिनका लागि आवेदन दिएका छन् ।

सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्ने सन्देशका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्रको लागि अत्याधिक मात्रामा ज्येष्ठ नागरिक, अशक्तहरुको भिडभाड भएको अवस्था छ ।

हाल जम्मा २८ जिल्लाका केही पालिकामा मात्र २०८१ साउना १ गतेबाट यो प्रावधान लागु हुने र गुल्मी जिल्ला अहिले लागु गर्ने जिल्ला सूचिमा नपरेको व्यहोरा जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना मार्फत जानकारी गराएको छ ।