गुल्मीदरबारको बजेटमा एक वडा पाँच पोखरी, बादर नियन्त्रण गर्न हेरालु 

admin

२०८१ असार ११ गते, सोमबार १९:०५ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, १० असार । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ लागि झण्डै ४६ करोड रुपैंयाको वजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले सोमबार कुल ४५ करोड ९३ लाख आठ हजारकोे प्रस्तुत गर्नु भएको हो ।

बजेटमा चालु तर्फ ३४ करोड १५ लाख आठ हजार र पुजीगत तर्फ ११ करोड ७८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको थियो । उपाध्यक्ष थापाद्वारा प्रस्तुत बजेट तथा वार्षिक कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पशुपालन, पर्यटन, खानेपानी, रोजगारी, वन्यजन्तु नियन्त्रण, खेलकुद तथा संस्कृति प्रबद्र्धन, उद्योग तथा राजस्व संकलन लगायतका विषयलाई मुख्य प्राथमिकता साथ समावेश गरिएको छ ।

त्यसैगरि बजेटमा बादर, बँदेल लगायतका वन्यजन्तु नियन्त्रणका लागि हेरालुको व्यवस्था मिलाउने, एक वडा पाँच पोखरी निर्माण गर्ने, डढेलोको मुख्य कारकको रुपमा रहेको सल्लाका रुखहरुलाई डिभिजन वन कार्यालयसँग समन्वय गरि तिनलाई विस्थापित गरि उक्त स्थानमा फलफुल लगायत अन्य विरुवाहरु लगाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

बजेटले अध्यक्ष कप खेलकुद कार्यक्रम, भूमि बैंक स्थापना, अध्यक्ष कृषक सम्मान कार्यक्रम, फलफुल तथा तरकारी खेती प्रबद्र्धन, जेष्ठ नागरिक, दलित, बालवालीका, अपाङ्गतासँग, गाउँपालिका एकघर एकधारा, मेरी आमा स्वस्थ आमा, विपन्न सुत्केरी राहत कोष, साथी शिक्षा कार्यक्रम, हाम्रो गाउँ स्वस्थ बनाउ, उपाध्यक्ष शैक्षिक सुधार कार्यक्रम लगायतका विषयलाई प्रमुख प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराउनु भयो ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापाद्वारा सञ्चालन गरिएको पन्ध्रौं गाउँ सभामा लुम्बिनी प्रदेश सभा सदश्य धनेन्द्र कार्कीले बिशेष सम्बोधन गर्नु भएको थियो ।