२ चैत्र २०८१, आईतवार
पहिरोले गुल्मीको रिडी–पुर्तिघाट सडक अबरुद्ध

गुल्मी, असार २१ । बर्षादका कारण पहिरो गएपछि अबरुद्ध बनेको कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक अझै सुचारु भएको छैन । उक्त सडक खण्डको कालीगण्डकी गाउँपालिका अन्र्तगत भुर्तुङ् र वडा नंम्बर ३ को मुल्कामा बिहिबार राती पहिरो गएपछि सडक अबरुद्ध बनेको हो ।
बिहिबार राती सडक माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भएको छ । लगातार वर्षा भैरहेको कारण सडक सुचारु गर्न समस्या परेको उहाँले बताउनु भयो । कालिगण्डकी करिडोर अन्र्तगत कालीगण्डकी गाउँपालिकाका विभिन्न स्थानमा शुक्रबार बेलुकासम्म पहिरो खस्ने क्रम जारी रहेको कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत अत्यन्तै जरुरी काम बाहेक मानिसहरुलाई यात्रा नगर्न आग्रह गर्नु भएको छ । यदि अत्याबस्यक भएर यात्रा नै गर्नु परेमा पालिकामा सम्पर्क गरेर मात्र यात्रा गर्न उहाँले सर्वसाधारणमा सुचित गर्नु भएको छ । बर्षाद भैरहेको कारण अबरुद्ध सडक सुचारु गर्न समस्या परेको बताईएको छ । पानी रोकिएमा सनिबार बिहानैदेखि निर्माण व्यवसायी र गाउँपालिकाको सहयोगमा सडकमा झरेको पहिरो हटाई सडक सुचारु गरिने गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षादको समयमा खोला किनार क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका स्थानीयहरुलाई सर्तक रहन र सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनु भएको छ । उहाँले वर्षादको समयमा अत्यावश्यक काम बाहेक मानिसहरुलाई लामो यात्रामा ननिस्कन समेत आग्रह गर्नु भएको छ । बर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी र निस्ती लगायतका खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ ।
वर्षादका कारण शुक्रबार बिहानदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । पानी परिरहेका कारण सडक अबरुद्ध बनेपछि ग्रामिण भेगहरुबाट सदरमुकाम तम्घास आवतजावन गर्ने एक दर्जन भन्दा बढी सडकहरु अबरुद्ध बनेका छन ।