गुल्मीको रेसुङ्गा नगरमा ३५७ मिटरको लामो झोलुंगे पुल निर्माण

admin

२०८१ असार २७ गते, बुधबार १४:२४ मा प्रकाशित

 

अनिल खत्री

२६ असार, गुल्मी । बर्खा यामको समयमा खोला तर्नलाई झोलुंगे पुल निर्माण गर्ने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासमा भने एउटा वडाबाट अर्को वडामा जानको लागि झोलुङ्गे पुल निर्माण भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–२ उदिनढुंगा र वडानम्बर–७ लसुने डाँडा जोडने नमून झोलुंगे पुल निर्माण भएको छ । दुईवटा वडाका स्थानीयलाई वारी पारी आउ–जाउ गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिड्नु पर्ने बाध्यतामा रहेका नागरिकको सहजताको लागि झोलुंगे पुल बनाइएको हो ।

अर्को तम्घास बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गर्न नि झोलुङ्गे पुल निर्माण भएको छ । यस भेगमै लामो र अग्लो स्थानमा बनाइएको पुल बनेपछि हेर्न र फोटो खिचाउन जानेहरुको घुँइचो लाग्ने गरेको छ ।

झोलुंगे पुल बनेपछि वारि–पारि गर्न घुमाउरो बाटो हिड्न नपर्ने भएको स्थानीय कमला कुँवरले बताउनुभयो । तम्घास बजार किन मेल गर्न जान पनि यो पुलले दुरी छोटे बनाएको उहाँको भनाइ छ ।

लसुने डाँडाबाट तम्घास बजार आउन १० मिनेट भन्दा बढि समय लाग्ने बाटो २ मिनेटमै पुग्न सकिने भएको छ ।

यसभेगमै लामो पुल बनेपछि हेर्नका लागि पुगेका रेसुङ्गा–९ का हुमबहादुर नेपालीले पुल मनोरञ्जन गर्नका निम्ति पनि गनतव्य बनेको बताउनुभयो । उहाँले पैदल हिड्नेहरुको लागि दुरी छोटो हुनुका साथै बजार वासीलाई मुडफ्रेस गर्ने ठाउँ पनि बनेको बताउनुभयो ।

तम्घास बजारको उदिनढुंगाबाट साखिने डाँडा पुग्ने ३५७ मिटर लामो पुलको निलगिरी निर्माण सेवा प्रालिले गरेको हो । झोलुंगे पुल बनेपछि तम्घास बजारमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गर्ने माध्य पनि बन्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

नगरपालिकाले सुरु गरेको जाउँ हिँड रेसुङ्गासँग जोडेर यस पुलको प्रचारप्रसार गरिने बताउनुभयो । अहिले पुल बनेको स्थानमा वञ्जी जम्प गर्ने स्थल बनाउनका लागि पनि अध्ययन भइरहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।

नगरभित्र आउने कुनैपनि आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन गर्ने खालका पर्यटकीय संरचना निर्माणमा नगरपालिकाले ध्यान दिँदै आएको उहाँको भनाइ छ । नेपाल सरकार शहरी विकास मन्त्रालय स्पेन्सन बृज डिभिजन मार्फत १ करोड ८४ लाखको लागतमा पुल निर्माण भएको इन्जिनियर प्रवेश रेग्मीले बताउनुभयो ।

पुलको पारबहन क्षमता १०७ मेट्रिक टन रहेको छ । झोलुंगे पुलमा एक पटकमा ७७२ जना पदयात्री हिड्न मिल्ने क्षमताको रहेको छ ।

रेसुङ्गा नगरपालिकामा ३ वर्ष पहिले यस्तै पुइवटा वडामा जानको लागि नगरको वडानम्बर–७ र वडानम्बर–९ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएकोथियो । त्यो पनि खोला तर्न नभई दुइवटा विचमा वारी पारी गर्न निर्माण गरिएको थियो ।

रेसुङ्गा नगरपालिकासँगै सदरमुकामका अन्य कार्यालयहरुमा जानको निम्ति सहज बनाउने उदेश्यले झोलुंगे पुल निर्माण भएको थियो । रेसुङ्गा नगरपालिका वडानम्बर–७ भुजलखर्क र वडानम्बर–९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारी–पारी गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिड्नुपर्ने भएपछि झोलुंगे पुल बनेको थियो ।

पुलको ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा ११८ मिटर लम्बाई निर्माण गरिएको थियो ।