८ जेष्ठ २०८२, बुधबार
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा
जनार्दन घिमिरे
गुल्मी, असार २६ । गुल्मी जिल्लालाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा पन्ध्र महिनासम्मका वालवालीकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पुरा भएसँगै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले जानकारी दिनु भएको छ ।
गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै सातौं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने प्राबधान रहेको छ । जिल्लालाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गर्नु अघि वडा र पालिकाहरुमा पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले बताउनु भयो ।
पूर्ण खोप दिगोपना सुनिश्चतताका लागि प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषणका साथै अभिलेख तथा प्रतिवेदन लगायतका रणनीतिक योजनाहरु निर्माण गरिएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताउनु भयो ।
लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीलाई पूर्ण खोप दिगोपना सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्दै आगामी दिनहरुमा पनि खोपको सुनिश्चितता गर्दै अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमामा पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक द्रोर्णबहादुर खत्रीले लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
खोप कार्यक्रमबाट बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, मातृ तथा नवशिशु धनुष्टङ्कार रोग निवारण, पोलियो रोग शून्य अवस्था,जापानिज इन्सेफलाइटिस, रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बि नियन्त्रणका साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा तीन सय ३२ वटा खोपकेन्द्र र १२ वटै स्थानीय तहहरुमा खोप भण्डारण उपकेन्द्र रहेका छन् ।