२ चैत्र २०८१, आईतवार
जिल्ला प्रशासन गुल्मीको अभियान,अशक्तलाइ घरमै पुगेर नागरिकता प्रदान

गुल्मी, २ साउन । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जण्डीसका कारण अपाङ्ता भएका धुर्कोट गाउँपालिका १ अन्तरगत नयाँगाउँ निवासी १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद शर्माले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिहरुलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान अन्र्तगत घर्तीलाई पनि घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । ‘हामीले हरेक पालिकाहरुमा पुग्दा त्यहाँका जनप्रतिनिधिहरुलाई त्यस्ता प्रकाकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौ भनेका छौ,” उहाँले भन्नु भयो ।
अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकोले उनीहरुलाई कार्यालयबाट कर्मचारीहरु घरमै पुगेर नागरिकता प्रदान गरिने ब्यवस्था मिलाईएको प्रजिअ शर्माले बताउनु भयो ।
अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रमुख जिल्ला अधिकारी शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाउनु भएको थियो । आफुले गुनासो राखेपछि मंगलबार घरमै आएर छोरालाई बिस्तारामै नागरिकता दिँदा आफुहरु निकै खुसि बनेको अन्मुलका बुबा ध्रुब घर्तीले बताउनु भयो । “ यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनु भयो, नागरिकता दिनु भयो, हामीलाई त भगबान आएजस्तै भयो,” भावुक स्वरमा घर्तीले सुनाउनु भयो ।
जन्मदा ठिकठाक राम्रै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि जण्डिसका कारण अपाङ्ता हुनुपरेको बताईएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि बिस्तारामै छन । उनी बोल्न र केही गर्न सक्दैनन् । उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रुपमा खटिरहनु पर्ने बाध्यता छ । ध्रुबको तीन सन्तानहरु मध्य उनी माईलो सन्तान हुन । बृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाई रहनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले यस अघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरुमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरुलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताउनु भयो ।