खोलाले बगाए बेपत्ता बनेका कार्कीको शव पाँच दिनपछि भेटियो 

admin

२०८१ श्रावण १० गते, बिहीबार २१:५५ मा प्रकाशित

गुल्मी, १० साउन । गुल्मीमा खोलाले बगाएर बेपत्ता बनेका एक युवाको शव पाँचदिनपछि फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ का ३१ वर्षीय बोमबहादुर कार्कीको शव बिहिवार बेलुका मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल छल्दी खोलाको दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार्की यही साउन पाँच गते मुसिकोट नगरपालिका १ अन्तरगत पौदीबाट मुसिकोट नगरपालिका २ स्थित मामाघर जाँदै गर्दा खोला तर्ने क्रममा निस्ती खोलाले बगाएर बेपत्ता बनेका थिए । बेपत्ता बनेका कार्कीको पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय गुल्मी र ससस्त्र प्रहरीबल नेपाल नं ३७ गुल्म गुल्मीको संयुक्त टोली सहित स्थानीयहरुद्वारा खोजीकार्य भैरहेको थियो ।

पानीको बहाव कम भएपछि बिहिबार खोलामा माछा मार्न जानेहरुल शव देखेपछि प्रहरीमा खबर गरेका थिए । ढुङ्गामा अड्किएर सडेको अबस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनुभएको छ ।

खोलामा आएको पानीको बहावका कारण उनको खोजीकार्यमा समस्या परेको थियो । कार्कीको खोजीका लागि नेपाल प्रहरी, ससस्त्र र स्थानीयहरु गरि ६० जना भन्दा बढी मानिसहरु परिचालित भएको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताउनु भयो ।