२३ भाद्र २०८१, आईतवार
रेसुङ्गा नगरपालिकाले स्नातक प्रथम वर्षमा पढ्नेलाइ भर्ना निःशुल्क गरिदिने
गुल्मी, २७ साउन । रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाइ निःशुल्क भर्ना गरिदिने भएको छ ।
गुल्मीको सरदमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्ना वापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो ।
रेसुङ्गा नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै नगरपालिका प्रमुख खिलध्वज पन्थीले उक्त जानकारी गराउनु भएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या गिर्दो अवस्थामा रहेकोमा विद्यार्थीलाई भर्ना वापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिनुभयो । क्याम्पसमा हाल सात सय ७९ विद्यार्थी रहेका छन् । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न बिषयमा अध्ययन/अध्यापन हुँदै आएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसलाई संचालन गर्ने र यसलाई जोगाइराख्न आफूहरुले सहयोग गरेको पत्रकार सम्मेलनमा पन्थीले बताउनु भयो । ‘अब रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना निःशुल्क हुन्छ ।’ नगरप्रमुख पन्थीले भन्नुभयो, “त्यसबापत प्रति विद्यार्थी पाँच हजार रुपैयाँ क्याम्पसलाई हामी दिन्छौं ।” क्याम्पसमा नगरपालिकाले यसअघि दुई चरणमा गरि एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ ।
प्रध्यापक÷उपप्रध्यापकहरुलाई तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै संकटकाल घोषणा गरेको थियो । संकटकाल घोषणापछि धेरै उपप्रध्यापकलाई हटाएको थियो । हाल क्याम्पस पुरानै लयमा फर्किने अवस्थामा छ ।
रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएपछि दुई सय देखि तीन सय विद्यार्थीहरु अध्ययनका लागि आउने नगरपालिकाको अपेक्षा छ । क्याम्पसमा मासिक शुल्क एक हजार रूपैंयासम्म रहेको बताइएको छ।