आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा

admin

२०८१ भाद्र ५ गते, बुधबार ०९:०६ मा प्रकाशित

गुल्मीमा पहिलो पटक सामुदायिक संस्थामा स्वास्थ्य बिमा 

गुल्मी, ५ भदौ । गुल्मीमा पहिलो पटक सामुदायीक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । नेपाल नेत्र ज्योति संघ गुल्मी अन्तर्गत सञ्चालित जिल्ला आँखा उपचार केन्द्र तम्घासमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड अन्र्तगत स्वास्थ्य बिमा सेवा कार्यक्रम लागु गरिएको हो । यो सेवा शुरु भएसँगै बिमित नागरिकहरुले नेपाल सरकारले तोकेको सहभुक्तानी २० प्रतिशत शुल्कमा स्वास्थ्य बिमा सेवा प्राप्त गर्नसक्ने भएका छन् ।

बिमा सेवाबाट आँखा जाँच, औषधि र शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने बताईएको छ । त्यसका अतिरिक्त वर्षमा एक पटक एक हजार मूल्य बराबरको चस्मा समेत बिमा सेवाबाट उपलब्ध गराईने आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ । जिल्लाका पाँचवटा पालिकाहरुले मोतीयाबिन्दुको शल्यक्रियाका लागि केन्द्रलाई सहभुक्तानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको नेपाल नेत्र ज्योति संघ गुल्मीका सचिव पदम पाण्डेले जानकारी दिनुभएको छ । उहाँले बिमा गरेका नागरिकहरुको हकमा ८० प्रतिशत रकम बिमाबाट र २० प्रतिशत रकम स्वयं व्यक्तिले भुक्तानी गर्नु पर्ने बताउनु भयो । तर लक्षित समूहलाई भने सहभुक्तानी तिर्नु नपर्ने बताईएको छ ।

स्वास्थ्य बिमा सेवा शुरु भएसँगै पहिलो पटक शल्यक्रिया शिविरमा २३ जना मोतियाबिन्दुका बिरामीहरुले सेवा लिएका छन । उक्त शिवरमा ११ जनाले स्वास्थ्य बिमा र १२ जना नागरिकहरुको विभिन्न पालिकाहरूको सहयोगमा आँखाको निशुल्क शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बहादुर बस्नेतले जानकारी दिनुभयो । जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, छत्रकोट, रूरूक्षेत्र र इस्मा गाउँपालिकाले शल्यक्रियाको लागि विमा नगरेको हकमा सतप्रतिशत र विमा गरेकाको हकमा २० प्रतिशत रकम तिरिदिने प्रतिबद्धता व्यक्त गरेको संघका जिल्ला सभापति अखिलेश्वर प्रसाद पाण्डेले बताउनु भयो ।

आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडि सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा प्रदान गरिदै आएको छ । केन्द्रले मासिक रुपमा विभिन्न पालिकाहरुमा पुगेर आँखा शिविर सञ्चालन गरि बिरामीहरुलाई सेवा दिंदै आईरहेको छ । जिल्लामा गत आर्थिक वर्षमा ३३ हजार नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिएको थियो भने पाँच सय भन्दा धेरैको मोतीयाबिन्दुको शल्यक्रिया गरिएको बताईएको छ । जिल्लामा यसरी स्वास्थ्य बिमा शुरु भएसँगै आँखा उपचार केन्द्रमासेवा लिन आउने नागरिकहरुको संख्यामा समेत थप बृद्धिहुने अपेक्षा गरिएको छ ।