२३ भाद्र २०८१, आईतवार
प्रागमा सांस्कृतिक कार्यक्रम सम्पन
चेक रिपब्लिक ( प्राग ) ५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकद्वारा प्रागमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । प्रागको लुम्बिनी रेष्टुरेण्टमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । चेक रिपब्लिकमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै, आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देस्यले उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए चेक रिपब्लिकका अध्यक्ष वैकुण्ठ रायमाझीले बताउनु भयो ।
कार्यक्रममा मुख्य आकर्षणको रुपमा नेपाली लोकसांगीतिक क्षेत्रका प्रतिष्ठित गायक विष्णु खत्रीको प्रस्तुती रहेको थियो । बाग्लुङ जिल्लामा जन्मिएका खत्रीले तीन दशकभन्दा बढी समयदेखि नेपाली लोकसांगीतिक क्षेत्रमा ठुलो योगदान पुर्याउँदै आउनु भएको छ। कार्यक्रममा आलिशा सापकोटाद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा एनआरएनए चेक रिपब्लिकका वर्तमान अध्यक्ष वैकुण्ठ रायमाझी र अञ्जना रायमाझीले लाइभ नौमती बाजामा गीत गायर दर्शकहरूलाइ सांगितीक प्रस्तुती दिनुभएको थियो । जसले कार्यक्रमलाई थप रोचक र जीवन्त बनाएको थियो । पञ्चे बाजा टोलीले प्रस्तुत गरेको पञ्चे बाजाको धुनमा सहभागीहरूले झमझम नाच्दै नेपाली कला संस्कृतिको अनुभव बटुलेका थिए।
कार्यक्रममा एनआरएनए चेक रिपब्लिकका पूर्व अध्यक्ष जितेन्द्र रायमाझी, छत्र बाहादुर अधिकारी एवं यदुराम पन्थीको बिशेष सहभागिता रहेको थियो । यो कार्यक्रममा संस्थाका सल्लाहकार डा. कृष्णा सापकोटा, डा. सुनिल अधिकारी, जीवन केसी, शिव खरेल, चन्द्र अधिकारी, पाण्डव अधिकारी, जमुना अधिकारी, करुणा रायमाझी, अञ्जिला सिंह लगायत नेपालबाट पराग पुगेका अन्य अभिभावकहरूको समेत सहभागिता रहेको थियो । त्यसैगरि INAS का सदस्यहरू र पूर्व अध्यक्ष अञ्जना रायमाझी अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रमले चेक रिपब्लिकमा रहेका नेपालीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउँदै, आफ्नो भाषा, संगीत र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने बताइएको छ ।