श्रीकृष्ण जन्माष्टमीको अवसरमा तम्घासमा रोपाइँ जात्रा

admin

२०८१ भाद्र ११ गते, मंगलवार १७:०६ मा प्रकाशित

गुल्मी, ११ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिविध कार्यक्रमहरु सहित रोपाई जात्रा पर्व मनाइएको छ । कृष्ण जन्माष्टमीको दोश्रो दिन बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्ला सदरमुकाम तम्घासमा रथ यात्रा सहित रोपाइँ जात्रा गरेर उल्लासमय तरिकाले यो पर्व मनाईएको हो ।

सदरमुकम तम्घास स्थीत तम्घास्थान संयुक्त मन्दिर व्यवस्थापन समिति, राधा माधव समिति, सत्यसाही केन्द्र, नेवा खलः, पतञ्जली योग समिति लगायत आधा दर्जन भन्दा बढी संघ संस्थाद्वारा संयुक्त रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाईएको हो । मन्दिर व्यवस्थापन समिति लगायतका संघ संस्थाले मंगलबार बिहान रथलाई बजार परिक्रमा गराई श्रद्धालु भक्तजनहरुले घरघरबाट भगवान श्रीकृष्णको पुजाआजा गरेका थिए ।

सोही अवशरमा रथ यात्रा सकिएसँगै तम्घासको चिदिचौरमा रोपाइँ जात्रा, हाँस्यव्यंग्य गाईजात्रा प्रस्तुति, लाखे नाच, चरी नाच सहित विविध मनोरञ्जनात्मक व्यंग्यात्मक साँस्कृतिक झाँकीहरुको समेत प्रस्तुति गरिएको थियो । देशको विभिन्न घटनाक्रममा आधारित रहेर राजनैतीक एवं सामाजिक घटनाक्रम समन्धी हाँस्य व्यंग्य प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा खेत रोपाइँको क्रममा गाईने वालीको सुरिलो भाका गाएर कार्यक्रमलाई थप रोचक बनाईएको थियो ।

रोपाइँ जात्रा हेर्नका लागि गाउँगाउँवाट आएका मानिसहरुको ठूलो भिड लागेको थियो । नयाँ पुस्ताले पुराना परम्परा संस्कार र सँस्कृतिहरु बिस्तारै बिर्सिदै जानको अबस्थामा त्यसको संरक्षण तथा संबद्र्धनका लागि गुल्मीमा बर्षेनी यस्ता प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिँईदै आईएको छ । रोपाइँ जात्राको अवसरमा रेसुङ्गा नगरपालिकाले नगरपालिका भित्र मंगलबार स्थानीय बिदा समेत दिएको थियो ।